काठमाडौं, २० असोज — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न पुगेको ‘हामी नेपाल’ संस्थाका संस्थापक सुदन गुरुङ नेतृत्वको टोलीलाई प्रहरीले रोक लगाएपछि काठमाडौं उपत्यकामा सुरक्षात्मक सतर्कता तीव्र भएको छ।
सोमबार साँझ गुरुङको टोली जाहेरी लिएर काठमाडौं उपत्यका प्रहरी परिसर भद्रकाली पुगेको थियो। तर प्रहरीले “जेन–जी आन्दोलनसम्बन्धी घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेको” भन्दै जाहेरी दर्ता गर्न अस्वीकार गरेको हो।
जाहेरी अस्वीकृत भएपछि असन्तुष्टि व्यक्त गर्दै सुदन गुरुङले भने, “अब सडकबाटै देखाउँछौं।” उक्त भनाइपछि सुरक्षा निकाय सतर्क बनेको थियो।
विश्वसनीय प्रहरी स्रोतका अनुसार, त्यसपछि काठमाडौं उपत्यका प्रहरी परिसरले ‘भिक्टर कन्ट्रोल’ कल साइनमार्फत सबै बिटका प्रहरीलाई फिर्ता बोलाएको छ। बेलुकी साढे ७ बजेपछि जारी आदेशअनुसार सबै बिट प्रहरीलाई आफ्नो–आफ्नो वृत्तमा उपस्थित हुन भनिएको हो।
सुरक्षा स्रोतका अनुसार, ‘हामी नेपाल’ टोलीको गतिविधि र सम्भावित विरोध प्रदर्शनका कारण उपत्यकाभर सतर्कता उच्च बनाइएको छ।
प्रहरीले कुनै अप्रिय घटना हुन नदिन विशेष निगरानी बढाएको जनाएको छ।