रविन्द्र कट्टेल - जापानको नागोयास्थित करिया हलमा सम्पन्न ‘हिट किक बक्सिङ-५९’ को मुख्य भिडन्तमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले किक बक्सिङको इतिहासमा पुनः एकपटक स्वर्णिम अध्याय लेखेका छन्। अन्तरराष्ट्रिय खेलकुद किक बक्सिङ महासङ्घ (ISKA) को विश्व च्याम्पियनसिप अन्तर्गत भएको रोमान्चक खेलमा अविरलले फ्रान्सका प्रख्यात बक्सर तथा सन् २०२५ का विश्व च्याम्पियन माथन चोइनार्डलाई दोस्रो राउण्डको दोस्रो मिनेटमै कडा मुक्का प्रहार गरी नकआउट गर्दै नयाँ इतिहास रचेका हुन्।
अहिलेसम्म २९ ओटा अन्तरराष्ट्रिय प्रतियोगितामा भिडिसकेका अविरलको यो २१ औँ शानदार जित हो। अझ विशेष त, आफ्ना २१ जितमध्ये २० खेलमा विपक्षीलाई नकआउट गर्दै जित हासिल गर्ने उनी एकमात्र नेपाली बक्सर बनेका छन्। रिङभित्र विपक्षीलाई घुँडा टेकाउने उनको यो अभूतपूर्व कीर्तिमानले नेपालीको आँट, गौरव र सामर्थ्यलाई विश्व खेलकुदको सर्वोच्च मञ्चमा पुनः स्थापित गरिदिएको छ।
ऐतिहासिक सफलता हात पारेपछि बक्सर घिमिरेले आफ्नो खुसी साट्दै देशप्रतिको उत्तरदायित्व पनि प्रस्तुत गरे। हालै रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उनले पीडितहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, आफ्नो कठिन खेलयात्रामा निरन्तर साथ र हौसला दिने सम्पूर्ण समर्थक, प्रशिक्षक र नेपाली शुभचिन्तकहरूलाई उनले हार्दिक धन्यवाद अर्पण गरे।
यसैबीच, राष्ट्रिय खेलकुद परिषद्का सचिवालयमा कार्यरत ‘अतेमी क्योकुशिन कराँते’ का प्रमुख प्रशिक्षक प्रदीप थापाले अविरलको यो विजयले विश्वभर नेपालको उच्च छवि निर्माण गरेको बताएका छन्। खेलकुदको माध्यमबाट देशलाई समृद्धिको दिशामा अघि बढाउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण अविरलले पेस गरेको उल्लेख गर्दै उनले घिमिरेको उज्यालो खेलभविष्यको कामना गरेका छन्।