तथ्यहीन समाचारप्रति खर्वा तामाङको आपत्ति : ‘सत्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गरौँ’

ecopolinews.com

काठमाडौं । रोजगारीको सिलसिलामा हाल जापानमा रहेका खर्वा तामाङले आफू र आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित विषयमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीप्रति गम्भीर आपत्ति जनाएका छन्।

तामाङका अनुसार, केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीहरू वास्तविक तथ्य, वर्तमान अवस्था र सम्बन्धित व्यक्तिको अवस्थाबारे पर्याप्त पुष्टि नगरी सार्वजनिक गरिएका छन्। यस्ता तथ्यहीन तथा भ्रामक सामग्रीले आफ्नो व्यक्तिगत जीवनमा अनावश्यक असर परेको र मानसिक तनावसमेत सिर्जना भएको उनले बताएका छन्।

परिवारको पालनपोषण तथा भविष्यका लागि विदेशमा रहेर काम गरिरहेका तामाङका दुई छोरा र दुई छोरी रहेको बताइएको छ। विदेशमा रहेर आफ्नो पारिवारिक जिम्मेवारी पूरा गरिरहेका अवस्थामा व्यक्तिगत विषयलाई अतिरञ्जित ढंगले प्रस्तुत गर्दा आफू तथा आफ्नो परिवारमा समेत अनावश्यक मानसिक दबाब परेको उनको भनाइ छ।

तामाङले सम्बन्धित विषयमा मिलापत्र भइसकेको विषयलाई पुनः तनाव सिर्जना गर्ने ढंगले प्रस्तुत नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्। उनले आफू हाल जापानमै रहेको स्पष्ट पार्दै वास्तविक अवस्था र स्थानको पुष्टि नगरी गरिएका दाबी तथा समाचारप्रति सचेत रहन आग्रह गरेका छन्।

उनले भनेका छन्, “सम्बन्धित व्यक्तिको वास्तविक अवस्था र स्थानको पुष्टि नगरी प्रकाशित वा प्रसारित गरिएका समाचारमा विश्वास नगर्नुहोस्। आधिकारिक तथा विश्वसनीय स्रोतबाट पुष्टि नभएका सामग्री शेयर वा प्रसार नगर्न सबैमा अनुरोध गर्दछु।”

तामाङले पत्रकारिता तथा सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण गर्दा सत्यतथ्यको पुष्टि र सम्बन्धित पक्षको धारणा लिनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार, कुनै पनि व्यक्तिको व्यक्तिगत जीवनमा प्रत्यक्ष असर पर्ने विषयलाई एकतर्फी वा अपुष्ट रूपमा सार्वजनिक गर्दा त्यसबाट गम्भीर सामाजिक तथा व्यक्तिगत क्षति हुनसक्छ।

उनले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा आम नागरिकलाई “पहिले सत्य तथ्य पुष्टि गरौँ, त्यसपछि मात्र समाचार तथा सूचना सम्प्रेषण गरौँ” भन्ने आग्रह गरेका छन्।

साथै, तथ्यहीन तथा भ्रामक सामग्री निरन्तर प्रकाशित वा प्रसारित गरी आफ्नो प्रतिष्ठा तथा व्यक्तिगत जीवनमा असर पार्ने प्रयास भएमा सम्बन्धित कानुनी निकायमार्फत कानुनी उपचार खोज्ने तामाङले बताएका छन्।

गलत सूचना फैलाउनु कसैको व्यक्तिगत जीवनमाथि अन्याय हुन सक्छ। त्यसैले अपुष्ट सामग्रीको पछि नलागौँ, आधिकारिक स्रोतबाट सत्यता पुष्टि गरौँ र जिम्मेवार ढंगले मात्र सूचना सम्प्रेषण गरौँ।

प्रतिक्रिया