न्युयोर्क । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका छन्। महासभाको उच्चस्तरीय छलफलअन्तर्गत सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यसूची तय भएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ। गुटेरेससँगको भेटपछि मात्रै महासभामा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।
१७औँ नम्बरमा बालेनको सम्बोधन
महासभाको बिहीबारको दिवासत्रमा १८ वटा देशका सरकार प्रमुखले सम्बोधन गर्ने कार्यसूची रहेको छ। त्यसमा प्रधानमन्त्री शाहको १७औँ नम्बरमा सम्बोधन गर्ने पालो रहेको बताइएको छ।
प्रत्येक वक्ताका लागि सामान्यतः १५ मिनेट समय छुट्याइएको छ। तर राष्ट्र तथा सरकार प्रमुखहरूले आवश्यकताअनुसार केही बढी समय लिन सक्ने भएकाले प्रधानमन्त्री शाहको सम्बोधन नेपाली समयअनुसार शुक्रबार बिहान करिब ४ देखि ५ बजेको आसपास हुने अनुमान गरिएको छ।
जलवायु क्षति र नेपालको आवाज मुख्य विषय
नेपाल जलवायु परिवर्तनबाट सिर्जित विपद्को प्रभावमा पर्दै आएको विषयलाई प्रधानमन्त्री शाहले महासभामा उठाउने तयारी गरेको स्रोतहरूले बताएका छन्।
विशेषगरी जलवायु परिवर्तनका कारण नेपालजस्ता कमजोर तथा प्रभावित मुलुकले व्यहोर्नुपरेको क्षति, त्यसबाट प्रभावित मुलुकको अधिकार र अन्तर्राष्ट्रिय न्यायको विषयमा उनले नेपालको धारणा राख्ने तयारी गरेको बताइएको छ।
प्रधानमन्त्री शाहको महासभा सम्बोधनलाई नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु संकट र त्यसबाट नेपालले भोगिरहेको प्रभावलाई उठाउने महत्वपूर्ण अवसरका रूपमा प्रयोग गर्न खोजेको देखिन्छ।
न्युयोर्कमा प्रधानमन्त्री शाहले गुटेरेससँग गर्ने भेटवार्ता र त्यसपछि महासभामा प्रस्तुत गर्ने नेपालको धारणा अहिले विशेष चासोको विषय बनेको छ।