रविन्द्र कट्टेल - नेपालको आन्तरिक राजनीति र ‘जेन-जी’ आन्दोलनमा अमेरिकी घुसपैठ रहेको दाबीसहितको ‘ग्रे जोन’ रिपोर्टलाई सार्वजनिक गरेकै भरमा राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन्। प्रधानमन्त्रीको सचिवालयबाट एक सातादेखि आएको निरन्तर र ठाडो दबाबका सामु निरीह बनेको प्रहरी प्रशासनले उनलाई आइतबार मोरङबाट नियन्त्रणमा लिएको हो। राजनीतिक विमर्शका लागि असोज २ गते मोरङ पुगेका दाहाललाई सुन्दरहरैंचा-८, सलकपुरस्थित गौरी ढकालको चिया पसलमा बसिरहेको अवस्थामा प्रहरीले घेराबन्दी गरेर पक्राउ गरेको थियो। उनी आफ्नो कार्यक्रम सकेर आइतबार नै काठमाडौं फर्किने तयारीमा थिए, तर शक्तिकेन्द्रको हतारोका कारण प्रहरीले उनलाई चिया पिउँदै गर्दा पक्रेर बुद्ध एयरको दिउँसो साढे दुई बजेको उडानमार्फत काठमाडौं पठाउने चाँजोपाँजो मिलाएको छ।
दाहालको पक्राउको मुख्य कारण उनले गत भदौ २७ गते (सेप्टेम्बर १२) सामाजिक सञ्जालमा लेखेको ‘अमेरिकी पत्रिकामा अर्को विस्फोट’ शीर्षकको स्टाटस हो। उक्त पोस्टमा उनले अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ ले तयार पारेको एउटा सनसनीपूर्ण रिपोर्ट सेयर गरेका थिए। त्यस रिपोर्टमा नेपालका केही नयाँ राजनीतिक अनुहार, आन्दोलनका अगुवा र चर्चित व्यक्तित्वहरूलाई अमेरिकी सहयोगमा सञ्चालित विभिन्न संघसंस्था तथा परियोजनाहरूले कसरी परिचालन गरिरहेका छन् भन्ने गम्भीर दाबी गरिएको थियो। देशको नयाँ पुस्ताको नेतृत्व, नागरिक अगुवा र क्षमता विकासका नाममा विदेशी शक्तिको चलखेल भइरहेको सूचना बाहिर ल्याउनु नै सरकार र शक्तिकेन्द्रका लागि असह्य बनेको प्रष्ट देखिन्छ।
लामो समयदेखि सरकारका गलत कदम र विदेशी हस्तक्षेपविरुद्ध खरो टिप्पणी गर्दै आएका दाहालको आवाज दबाउन यसपटक साइबर अपराधलाई अस्त्र बनाइएको छ। प्रहरी स्रोतका अनुसार प्रधानमन्त्रीको सचिवालयको निरन्तरको दबाबपछि ब्यूरोले शुक्रबार नै काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर बसेको थियो। यता, साइबर ब्यूरोका प्रवक्ता एसपी दिलिपकुमार गिरीले भने सामाजिक सञ्जालमा भ्रम र अतिरञ्जना फैलाएको प्राविधिक बहाना बनाएर यस पक्राउको बचाउ गरेका छन्। तथापि, एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेको रिपोर्टलाई केवल सेयर गरेकै आधारमा नागरिकलाई हतकडी लगाउने सरकारको यो कदमले लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ।