काठमाडौं । आगामी तीन दिन देशभर भारी वर्षा र सम्भावित विपद् जोखिम बढ्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।
प्राधिकरणले शनिबारदेखि सोमबार (असोज १८, १९ र २०) सम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका सार्वजनिक तथा निजी सवारीसाधन बन्द रहने जनाएको छ। साथै काठमाडौं उपत्यकामा भित्रिने र बाहिरिने सबै प्रकारका यातायात पनि पूर्ण रूपमा रोक लगाइने सूचनामा उल्लेख गरिएको छ।
प्राधिकरणका अनुसार यस अवधिमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना उच्च रहेको छ, जसका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। यस्ता सम्भावित विपद् घटनाबाट जनधनको सुरक्षा सुनिश्चित गर्न यो कदम चालिएको प्राधिकरणले स्पष्ट पारेको छ।
प्रमुख जिल्ला अधिकारी र सुरक्षाकर्मीमार्फत अनुगमन तथा कडाइका साथ कारबाही गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।
👉 सावधानी : यात्रु तथा सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमै बस्न र आधिकारिक निकायका सूचनालाई पालना गर्न अनुरोध गरिएको छ।