देशभरमै ‘नम्बर १’ कमान्डर: बाँकेका एसपी अङ्गुर जिसी ‘सर्वोत्कृष्ट कार्यसम्पादन’ अवार्डबाट सम्मानित

ecopolinews.com

रविन्द्र कट्टेल - काठमाडौँ: नेपाल प्रहरीको व्यावसायिक छवि र कार्यकुशलतामा नयाँ इँटा थप्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसी नेपालभरमै 'सर्वोत्कृष्ट कार्यसम्पादन' अवार्डबाट पुरस्कृत हुनुभएको छ। प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी अधिकृतहरूको कार्यक्षमता, अपराध नियन्त्रणमा हासिल गरेको सफलता र शान्ति-सुरक्षाको अवस्थालाई आधार मानी गरेको मूल्याङ्कनमा एसपी जिसी पहिलो नम्बरमा पर्न सफल हुनुभएको हो। विभागीय नीति र निर्देशनलाई अक्षरशः पालना गर्दै अनुशासित, लगनशील र कर्तव्यनिष्ठ भएर सेवा प्रवाह गरेको भन्दै संगठनले उहाँको उच्च कदर गरेको छ।

बाँके जिल्लाको कमान्ड सम्हालेयता एसपी जिसीले सीमावर्ती क्षेत्रको सुरक्षा संवेदनशीलतालाई बुझेर अपराध अनुसन्धानमा उल्लेख्य प्रगति हासिल गर्नुभएको छ। विशेषगरी जटिल प्रकृतिका अपराधको सफल अनुसन्धान, निर्वाचन सुरक्षाको चुस्त व्यवस्थापन र नागरिकमैत्री प्रहरी प्रशासनको अवधारणालाई व्यवहारमा उतारेकै कारण उहाँ यो गरिमामय पुरस्कारको हकदार बन्नुभएको हो। 'पीडितलाई न्याय र पीडकलाई सजाय' भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै उहाँले बाँकेमा प्रहरीप्रतिको जनविश्वासलाई समेत प्रगाढ बनाउनुभएको छ।

पुरस्कृत भएपछि प्रतिक्रिया दिँदै एसपी जिसीले यो सम्मानले आफूलाई थप जिम्मेवारीको बोध गराएको बताउनुभएको छ। उहाँले आगामी दिनमा पनि आम नागरिकलाई सुरक्षित वातावरणको प्रत्याभूति गराउन र प्रहरी सेवालाई अझ बढी प्रविधिमैत्री एवं पारदर्शी बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यो उपलब्धिले व्यावसायिक प्रहरी अधिकृतहरूको मनोबल उच्च बनाउनुका साथै प्रहरी संगठनभित्र स्वच्छ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया