पोखरा । पोखरामा सञ्चालन भइरहेको साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। सोमबार पोखरा रंगशालामा भएको लिग चरणको खेलमा नेपालले भुटानलाई २-१ गोलले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोड्यो।
नेपालको जितमा संगिता बढुवालले खेलको ३६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। दोस्रो हाफमा प्रतिजा राईले ७०औँ मिनेटमा अर्को गोल थपेपछि नेपाल बलियो स्थितिमा पुगेको थियो। खेलको अन्त्यतिर भुटानले ८७औँ मिनेटमा एक गोल फर्काए पनि नेपालले अग्रता जोगाउँदै खेल आफ्नो पक्षमा पार्यो।
यसअघि पहिलो खेलमा भारतसँग १-० ले पराजित भएको नेपालका लागि यो जित निकै महत्वपूर्ण बनेको छ। सोही दिन भएको अर्को खेलमा बंगलादेशले भारतलाई २-० ले हराएको छ।
अब नेपालले लिग चरणको अन्तिम खेलमा बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा जित हात पार्न सके मात्र नेपालको फाइनल यात्रा तय हुने सम्भावना रहनेछ।