काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाले असोज ३ गते नयाँ राहदानी निकालेको तथ्य सार्वजनिक भएको छ। सरकारले यो जानकारी केही दिनमै पाइसकेको उच्च स्रोतले जनाएको छ।
स्रोतका अनुसार उनीहरूको नयाँ राहदानीमा थाइल्यान्डको भिसा समेत प्रस्ट देखिएको छ, जसले उनीहरू निकट भविष्यमा उपचार वा अन्य बहानामा विदेश जाने तयारीमा रहेको आशंका बढाएको छ।
बुढानीलकण्ठ आगजनीपछि पासपोर्ट हराएको बहाना
भदौ २४ गते देउवाको बुढानीलकण्ठस्थित निवासमा भएको तोडफोड र आगजनीपछि देउवा दम्पतीको पासपोर्ट जलेको वा हराएको अनुमान गरिएको थियो। त्यसलगत्तै सरकारले उनीहरू विदेश पलायन हुन सक्ने सम्भावनालाई ध्यानमा राखी सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखेको थियो।
सम्पत्ति शुद्धीकरण विभागको दबाब : राहदानी रोक्का हुने सम्भावना
यसबीच, सम्पत्ति शुद्धीकरण विभाग, प्रहरीको सिआइबी र राहदानी विभागबीच देउवा दम्पतीको राहदानी रोक्का गर्नेबारे गम्भीर छलफल भइरहेको स्रोतले जनाएको छ।
राहदानी ऐन २०७६ को दफा १२ अनुसार भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरणको छानबिनका क्रममा अनुसन्धान अधिकारीले राहदानी रोक्का गर्न वा नयाँ जारी नगर्न निर्देशन दिन सक्ने प्रावधान छ।
यदि सम्पत्ति शुद्धीकरण विभागले राहदानी विभागलाई आधिकारिक पत्र पठायो भने देउवा दम्पतीको नयाँ राहदानी तुरुन्तै रोक्का हुने निश्चितजस्तै देखिएको छ।
देउवा निवासबाट पैसा भेटिएपछि अनुसन्धान तीव्र
केही दिनअघि सम्पत्ति शुद्धीकरण विभागको टोलीले देउवा निवासबाट मुचुल्का उठाएको थियो। त्यहाँ ठूलो मात्रामा नगद भेटिएको भिडियो सार्वजनिक भएपछि छानबिन झन् तीव्र भएको हो।
यस्तै, पूर्वऊर्जामन्त्री दीपक खड्काको घरमा प्रदर्शनकारीले पैसा फ्याँकिरहेको भिडियो समेत सार्वजनिक भएपछि त्यहाँ पनि विभागले मुचुल्का उठाएको थियो।