राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने सरकारको कदमलाई स्वेच्छाचारी, अधिनायकवादी र प्रतिशोधात्मक कार्य भन्दै कडा आपत्ति जनाउनुभएको छ। आइतबार एक प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष केसीले विधिको शासन र कानुनी प्रक्रियालाई मिचेर गरिएका यस्ता पक्राउले मुलुकलाई मुठभेड र अस्थिरतातर्फ धकेल्ने चेतावनी दिनुभएको छ। उहाँले 'भदौ २३ को हत्याकाण्ड' का दोषीलाई कारबाही हुनुपर्नेमा पार्टी प्रष्ट रहे पनि कुनै पनि छानबिन आयोगको प्रतिवेदनलाई आधार बनाएर न्यायिक प्रक्रिया नै पूरा नगरी सिधै पक्राउ गर्नु लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको जिकिर गर्नुभएको छ।
केसीले सरकारको यो शैलीले राज्य सत्ताको दुरुपयोग गरी राजनीतिक दलका नेताहरूलाई सिध्याउने रणनीति झल्काएको भन्दै यसलाई 'फासीवादी' प्रवृत्तिको रूपमा चित्रण गर्नुभएको छ। उहाँले भदौ २३ र २४ का घटनाहरूको सत्यतथ्य छानबिन गर्न सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गर्न समेत माग गर्नुभएको छ। राजनीतिक प्रतिशोधका आधारमा गरिने यस्ता गिरफ्तारीले न्याय दिने भन्दा पनि सत्ताको दम्भ प्रदर्शन गर्ने काम मात्र गरेको जनमोर्चाको ठहर छ। पुराना र पाका नेता केसीको यो कडा प्रतिक्रियाले बालन शाह नेतृत्वको सरकारमाथि थप राजनीतिक दबाब सिर्जना गरेको छ।