चितवन–२ मा विचारको भिडन्त:अविरल कि रवि?

ecopolinews.com

चितवन संवाददाता-  सुमन राज कट्टेल - २०५६ सालदेखि निरन्तर रूपमा बामपन्थी विचार बोकेर पार्टी र संगठनको अग्रपंक्तिमा खटिँदै आएका एक जुझारु, निष्ठावान र कर्मठ युवा नेताका रूपमा अविरल पोख्रेलको नाम आज चितवन क्षेत्र–२ को राजनीतिक विमर्शको केन्द्रमा आएको छ। नेकपा एमाले चितवनले प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र–२ बाट उम्मेदवारका रूपमा उहाँको नाम सिफारिस गरेको छ। जुन पार्टीको विचार, जनआधार र भविष्यप्रतिको स्पष्ट सन्देश हो।

निरन्तर बामपन्थी विचार बोकेर पार्टी र संगठनमा खटिँदै आएका अविरल पोख्रेल पूर्व माओवादी लडाकु हुन्—सशस्त्र संघर्षको कठोर अनुभव भोगेका, परिवर्तनको मूल्य चिनेका र शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा आफूलाई रुपान्तरण गर्न सफल नेतृत्वमा उहाँको योगदान छ ।यो यात्रा व्यक्तिगत मात्र होइन, नेपाली कम्युनिस्ट आन्दोलनको सामूहिक रूपान्तरणको कथा पनि हो।

हिजो कृष्ण भक्त पोख्रेलले चितवनको कम्युनिस्ट आन्दोलनलाई जसरी विचार, साहस र संगठनात्मक मजबुतीले नेतृत्व दिए, आज त्यही वैचारिक निरन्तरताको प्रतिनिधित्व युवा नेता अविरल पोख्रेलले गरिरहेका छन्। यो सिफारिसलाई धेरैले अनुभव र ऊर्जाबीचको सन्तुलन तथा इतिहास र भविष्यबीचको सेतुका रूपमा हेरेका छन्।

जनताको बहुदलीय जनवादको जीवन्त अभ्यास

नेकपा एमालेले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक दस्तावेज होइन, जनजीवनमा उतारिने व्यवहारिक मार्गदर्शन हो। अविरल पोख्रेलको राजनीतिक यात्रा यही जबजको मर्मअनुसार अघि बढेको देखिन्छ—जनतासँग प्रत्यक्ष सम्पर्क, जनसंघर्षमा सहभागिता, संगठन निर्माणमा सक्रियता र राज्यको नीतिलाई जनमुखी बनाउने प्रतिबद्धता छ।

उहाँले पार्टी संगठनलाई मजबुत बनाउने क्रममा श्रमिक, किसान, युवा, महिला तथा उत्पीडित समुदायसँग निरन्तर संवाद गर्दै कम्युनिस्ट आन्दोलनलाई नाराबाट व्यवहारतर्फ लैजान महत्त्वपूर्ण योगदान दिनुभएको छ। यही कारण जनतामा उहाँप्रति भरोसा बढ्दै गएको देखिन्छ।

जनकल्याणको राजनीतिमा विश्वास

नेकपा एमालेको मूल ध्येय राष्ट्र निर्माण र जनकल्याण हो। शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सामाजिक सुरक्षाजस्ता सवालमा एमालेले अघि सारेका नीतिहरूको पक्षमा अविरल पोख्रेल सधैं स्पष्ट र क्रियाशील रहँदै आएका छन्। स्थानीय तहदेखि केन्द्रीय राजनीतिक बहससम्म उहाँको उपस्थितिले युवाको आवाज र जनताको पीडालाई प्रतिनिधित्व गरेको छ।

चितवन क्षेत्र–२ मा विकास र सुशासनको माग तीव्र भइरहेका बेला, अविरल पोख्रेलजस्ता विचारवान, संगठनमा खारिएका र जनतासँग जोडिएका नेताको उम्मेदवारीलाई जनताले सकारात्मक रूपमा लिएका छन्।

अत्याधिक मतसहित जितको दाबी, जनभावनाको प्रतिबिम्ब

युवा नेता अविरल पोख्रेलले अत्याधिक मतका साथ जित्ने दाबी गर्नु केवल आत्मविश्वास होइन, यो पार्टीप्रतिको जनविश्वास, संगठनात्मक शक्तिको मूल्याङ्कन र जनभावनाको संकेत हो। चितवन क्षेत्र–२ मा देखिएको राजनीतिक माहोलले पनि एमाले र त्यसका उम्मेदवारप्रति बढ्दो समर्थन झल्काउँछ।

आगामी निर्वाचनमा चितवन–२ मा नेकपा एमालेका अविरल पोख्रेल र रास्वपाका रवि लामिछानेबीचको प्रतिस्पर्धा स्वाभाविक रूपमा चर्चामा छ। तर यो भिडन्त दुई व्यक्तिबीचको मात्र होइन, यो दुई फरक राजनीतिक संस्कृतिबीचको टकराव हो।

उहाँ भन्नु हुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापित दलहरूप्रतिको जनआक्रोशलाई आवाज दिएको सत्य हो। तर राज्य कसरी चलाउने? अर्थतन्त्र कसरी दिशा दिने? सामाजिक न्याय र वर्गीय प्रश्नमा के दृष्टिकोण लिने?—यी आधारभूत प्रश्नमा रास्वपाको राजनीतिक दर्शन अझै प्रस्ट देखिँदैन। राजनीतिमा आक्रोश पर्याप्त हुँदैन, दृष्टि र मार्गदर्शन अनिवार्य हुन्छ।

उहाँले जोड्नु हुन्छ एमालेसँग स्पष्ट नीति छ, दर्शन छ, अनुभव छ।एमालेसँग आन्दोलनको इतिहास छ, संगठनको अभ्यास छ र जनताप्रतिको जवाफदेहिता छ।

त्यसैले मेरो उम्मेदवारी नेकपा एमालेको वैचारिक दृढता, संगठनात्मक क्षमता र जनमुखी राजनीतिप्रतिको प्रतिबद्धताको प्रतिविम्ब हो।

यो केवल एक व्यक्तिको उदय होइन, कम्युनिस्ट आन्दोलनको नयाँ पुस्ताको नेतृत्वमा प्रवेश हो—जो जनताको भरोसा र पार्टीको विचारलाई एकैसाथ बोकेर अघि बढ्न सक्षम छ।

प्रतिक्रिया