काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको संशोधित विधानअनुसार काठमाडौँ उपत्यकालाई केन्द्रमा राख्दै शक्तिशाली ‘राजधानी विशेष कमिटी’ गठन गरेको छ। शुक्रबार आयोजित विशेष कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा कमिटीको औपचारिक घोषणा गर्दै एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित विशेष राजनीतिक अभियान समेत सुरु गरेको हो।
ललितपुरको गोदावरीमा सम्पन्न दोस्रो विधान महाधिवेशनको मर्म र भावनाअनुसार काठमाडौँ उपत्यकाभित्र रहेका जिल्ला कमिटीहरूलाई समेटेर प्रदेशस्तरको यो विशेष संगठनात्मक संरचना निर्माण गरिएको पार्टीले जनाएको छ। पुस २२ गते बसेको सचिवालय बैठकको निर्णयअनुसार गठित कमिटीको अध्यक्षमा नारायण सिलवाल चयन भएका छन्।
कमिटीको उपाध्यक्षमा प्रेम महर्जन, सचिवमा मिलन धरेल, तथा उपसचिवद्वयमा शशिजङ्ग थापा र वेलिमाया घले रहेका छन्। यसैगरी, पार्टीका सचिव डा. राजन भट्टराईलाई राजधानी विशेष कमिटीको इन्चार्ज को जिम्मेवारी दिइएको छ।
कार्यक्रममा अध्यक्ष ओलीले नवनियुक्त पदाधिकारीहरूलाई जिम्मेवारी हस्तान्तरण गर्दै काठमाडौँ उपत्यकालाई पार्टीको राजनीतिक शक्ति केन्द्रका रूपमा स्थापित गर्न निर्देशन दिए। उनले आगामी निर्वाचनमा निर्णायक भूमिका खेल्ने गरी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र प्रभावकारी परिचालनमा पूर्ण क्षमताका साथ जुट्न आग्रह गरे।
एमाले नेतृत्वले राजधानी विशेष कमिटीलाई नीति, संगठन र चुनावी रणनीतिका दृष्टिले उच्च प्राथमिकतामा राख्दै काठमाडौँ उपत्यकामा पार्टीको उपस्थितिलाई अझ मजबुत बनाउने संकेत गरेको छ।