तुइनखोलामा फेरि भीषण सुख्खा पहिरो

ecopolinews.com

चितवन, असोज ७ । काठमाडौं–नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा मंगलबार दिउँसो ३:२० बजे भीषण सुक्खा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। चितवनका एसपी गोविन्द पुरीका अनुसार माथिबाट निरन्तर सुख्खा पहिरो खसिरहेकाले जोखिम बढेको छ।

इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा पहिरो निरन्तर खसिरहेकाले सडक भासिन सक्ने खतरा रहेको र सवारी साधनलाई तत्कालै फर्काइ वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

ठूलो चट्टानसहितको सुख्खा पहिरो पन्छाउन कठिन भएकाले तत्काल राजमार्ग खोल्न नसकिने प्राविधिक टोलीले जनाएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा सडकमाथिबाट ठूलो चट्टान र धुलाम्याटो मिसिएको सुख्खा पहिरो खसिरहेको देखिन्छ।

यसअघि शुक्रबार साँझदेखि निरन्तर खसिरहेको सुख्खा पहिरो पन्छाएर राजमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याइएको भए पनि मंगलबार अपराह्न पुनः पहिरो खसेको हो।

त्यसअघि मंगलबार बिहान धादिङको बेनीघाट रोराङ–१० जवाङखोलामा खसेको सुक्खा पहिरो झण्डै १० घण्टा लगाएर पन्छाएपछि मात्र सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो।

ठूलो सुख्खा पहिरो पन्छाउन लामो समय लाग्ने भएकाले सडक विभागले काठमाडौं आउन–जाने यात्रुलाई तीन वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया