काठमाडौं । नेपाली कांग्रेसका युवा नेता महासमिति सदस्य पुष्पकुमार शाहीले पार्टीभित्र देखिएको आन्तरिक रस्साकस्सी र महाधिवेशनको विवादले संगठनको मूल आत्मालाई कमजोर नबनाउन आग्रह गरेका छन्।
शुक्रबार काठमाडौंको धुमबाराहीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेसलाई अझ सबल, अनुशासित र जनमुखी पार्टीको रूपमा पुनः स्थापित गर्न मंसिर महिनामा नियमित महाधिवेशनको मिति तत्काल तोक्न माग गरे।
उनको भनाइ थियो, “अब विधानअनुसार नियमित महाधिवेशन गरेर अघि बढ्न ढिला गर्नुको कुनै अर्थ छैन। चार वर्ष नाघिसकेको छ, आकाश खस्दैन। पार्टीका लागि यो नै उचित र लोकतान्त्रिक बाटो हो।” उनले विशेष महाधिवेशनको हल्ला फैलाएर पार्टीभित्र अशान्ति सिर्जना गर्न खोज्नेहरूलाई सचेत रहन आग्रह गरे।
शाहीले भने, “हस्ताक्षरका नाममा पार्टीको जग हल्लाउने काम गर्नु हुदैन। कांग्रेसको इतिहास बलिदान, समर्पण र सहकार्यमा बनेको हो। यसलाई सत्ताको खेलमैदान नबनाऔं।” उनका अनुसार, अहिले विशेष महाधिवेशनको नाममा शक्ति प्रदर्शन गर्नेहरूमा कतिपय सत्ता र पदमा रमाएका, र केही असन्तुष्ट भएर प्रतिशोधी मानसिकतामा पुगेका नेता छन्। उनले व्यङ्ग्य गर्दै भने, “कांग्रेस तपाईंहरूको बिर्ता होइन, यो जनताको पार्टी हो। जनताको भरोसा गुम्ने काम कसैले गर्नु हुँदैन।”
नेता शाहीले पार्टीभित्रका सबै तहका कार्यकर्ताको सम्मान गर्दै, अब अवसर नपाएका समर्पित व्यक्तिहरूलाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिए। उनले भने, “हामी पनि जीवनभर कांग्रेसको संगठन र विचारका लागि समर्पित छौं। अब कांग्रेसमा पुस्तान्तरण र नयाँ ऊर्जाको आवश्यकता छ। अवसर सन्तुलित रूपमा बाँड्न सके पार्टी, लोकतन्त्र र राष्ट्रियता बलियो बन्छ।”
कार्यक्रममा उनले कांग्रेसभित्र देखिएको गुटबन्दी र असहमतिले लोकतान्त्रिक मूल्य कमजोर पार्ने चेतावनी पनि दिए। उनका शब्दमा, “हामी एकजुट भयौं भने कांग्रेस बलियो हुन्छ, कांग्रेस बलियो भयो भने लोकतन्त्र बलियो बन्छ, र लोकतन्त्र बलियो भयो भने देश समृद्ध बन्छ। यही हाम्रो साझा उद्देश्य हो।”
शाहीले जनताको विश्वास अझै पनि नेपाली कांग्रेसमाथि रहेको भन्दै त्यस विश्वासलाई जोगाउनु पार्टीको नैतिक जिम्मेवारी भएको बताए। उनले भने, “जनताले हरेक संकटमा कांग्रेससँगै उभिएका छन्। लोकतन्त्रको रक्षा, शान्तिको पहरेदारी र जनताको अधिकारको संरक्षण कांग्रेसले नै गरेको हो। आज पनि जनता कांग्रेसकै नेतृत्वमा देश स्थिर र समृद्ध बन्ने विश्वास राख्छन्।”
उनले थपे, “हामी जनताको पार्टी हौं, जनताको दुःखमा सधैं उपस्थित रहनु नै हाम्रो पहिचान हो। कांग्रेसले जब-जब जनताको पीडा बुझ्यो, देश अघि बढ्यो। जब गुट र स्वार्थमा अल्झियो, जनताको विश्वास कमजोर भयो। त्यसैले अब एकजुट भएर अगाडि बढ्नु नै सबैभन्दा ठूलो देशसेवा हो।”
उनका अनुसार अहिलेको विवाद र विशेष महाधिवेशनको मागको घेराभन्दा बाहिर निस्केर कांग्रेसले जनताको पक्षमा ठोस कदम चाल्नुपर्छ। “कांग्रेस अहिले निर्णायक मोडमा छ,” उनले भने, “विभाजन होइन, सहकार्य नै अबको आवश्यकता हो। पार्टीभित्रको संवाद र विश्वासको वातावरण पुनः स्थापना गर्न सके कांग्रेस फेरि जनताको भरोसाको केन्द्र बन्नेछ।”
यता, संस्थापनइतर पक्षधर नेताहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग केन्द्रीय कार्यालयमा बुझाइसकेका छन्। तर, शाहीजस्ता नेताहरू भने पार्टीको स्थायित्व, शान्ति र संस्थागत बलको पक्षमा उभिँदै नियमित महाधिवेशनमार्फत नयाँ सुरुवात गर्नुपर्नेमा जोड दिइरहेका छन्।
उनको सन्देश स्पष्ट छ — नेपाली कांग्रेसले आन्तरिक एकता र जनताको विश्वास जोगाउन सके लोकतन्त्र सुरक्षित रहन्छ, र लोकतन्त्र सुरक्षित रह्यो भने देशको भविष्य पनि उज्यालो बन्छ।