डेढ अर्बमा फोनपेको २२% सेयर बिक्री, राजेन्द्र खेतान बने ठूला लगानीकर्ता

ecopolinews.com

काठमाडौं, १० असोज । नेपालकै अग्रणी डिजिटल भुक्तानी कम्पनी फोनपे पेमेन्ट सर्भिसको २२.३७ प्रतिशत सेयर करिब डेढ अर्ब रुपैयाँमा बिक्री भएको छ।

नेपाल राष्ट्र बैंकले दिएको स्वीकृतिअनुसार संस्थापक सेयरधनी असगर अलीले ४ लाख १२ हजार कित्ता र एफ वान सफ्ट इन्टरनेसनलले ७ लाख ४० हजार ११ कित्ता सेयर बिक्री गरेका हुन्। यसरी बिक्री गरिएको ११ लाख ५२ हजार ११ कित्ता सेयर फोनपेको कुल सेयरको २२.३७ प्रतिशत हो।

उद्योगपति राजेन्द्र खेतान प्रमुख खरिदकर्ता बनेका छन्। उनले मात्रै ७ लाख २१ हजार कित्ता सेयर किनेका छन्, जसमा अलीको २ लाख ६ हजार र एफ वान सफ्टको ५ लाख १५ हजार सेयर पर्छ। यससँगै फोनपेमा खेतान समूहको १४ प्रतिशत स्वामित्व कायम भएको छ।

फोनपेमा अन्य खरिदकर्तामध्ये नेपाल इम्प्याक्ट फन्ड १, स्वेडा इन्भेस्टमेन्ट, लक्ष्मी माइक्रो इन्भेस्ट, पर्सा होल्डिङ्स, नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड, जीजीसी इन्भेस्टमेन्ट लगायत रहेका छन्। यीमध्ये धेरैमा खेतानकै अप्रत्यक्ष संलग्नता रहेको स्रोतले जनाएको छ।

नेपालमा डिजिटल भुक्तानीमा अग्रणी मानिने फोनपेले अहिले ९० प्रतिशतभन्दा बढी QR कोड कारोबार सञ्चालन गरिरहेको छ। साथै, यसले नेपाल–भारतबीचको अन्तरदेशीय डिजिटल भुक्तानी पनि सम्भव बनाएको छ।

फोनपेको मूल कम्पनी एफवान सफ्टले ई–सेवा डिजिटल वालेट पनि सञ्चालन गर्दै आएको छ। कम्पनीले लगानी विविधीकरणका लागि फोनपेको सेयर बिक्री गरिएको जनाएको छ।

प्रतिक्रिया