डोल्पाको दुनै किन फेरि चर्चामा आयो?

ecopolinews.com

काँक्रेविहार (सुर्खेत), पुस ४ डोल्पाको सदरमुकाम दुनै अब पुरानै स्वरूपमा सीमित रहने छैन। कर्णाली प्रदेश सरकारले दुनैलाई व्यवस्थित, सुरक्षित र आधुनिक सहरको रूपमा विकास गर्न १६ करोड रुपैयाँको ठोस योजना अघि सारेको छ।

भेरी नदीको किनारमा फैलिएको दुनै बजारलाई दीर्घकालीन सहरी विकासको मोडेल बनाउने लक्ष्यसहित ढल निकास, सडक स्तरोन्नति र पहुँच विस्तारका कामहरू छिट्टै सुरु हुने भएका छन्। पूर्वाधार विकास कार्यालय, डोल्पाका प्रमुख टेक हितानका अनुसार स्रोत सुनिश्चित भइसकेकाले अब प्रक्रियागत चरण अगाडि बढ्दैछ।

यो योजनाअन्तर्गत भेरी नदीका दुवै किनारका सडकलाई व्यवस्थित गरिनेछ। बजार क्षेत्रदेखि हेलिप्याडसम्म नयाँ सडक निर्माण, हालै बनेको बेलिब्रिजसँग जोडिने सडकको स्तरोन्नति तथा भित्री बजारका साँघुरा बाटाहरू फराकिला बनाइनेछ। अव्यवस्थित ढल निकासका कारण भेरी नदी प्रदूषित हुँदै आएको समस्यालाई समेत समाधान गर्ने तयारी गरिएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमै चार करोड रुपैयाँ छुट्याइसकेको छ भने बाँकी रकम चरणबद्ध रूपमा खर्च गरिनेछ। हाल पुल बने पनि सडक नहुँदा अस्पताल आवतजावतमा देखिएको कठिनाइ अब हट्ने अपेक्षा गरिएको छ।

स्थानीय बासिन्दाले वर्षौंदेखि भोग्दै आएको साँघुरो सडक, फोहर ढल र बसपार्कसम्मको असहज यात्रालाई अब इतिहास बनाउने योजनामा प्रदेश सरकार जुटेको छ। भित्री बजारदेखि कालिका मन्दिर, अस्पताल, जलविद्युत् आयोजना हुँदै बसपार्कसम्म जोडिने सम्पूर्ण सडक सञ्जाललाई एकीकृत रूपमा विकास गरिनेछ।

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाका अनुसार, वर्षायाममा भेरी नदीको बहाव बढ्दा दुनै बजारमा देखिने जोखिमलाई पनि यो योजनाले न्यूनीकरण गर्नेछ। “दुनै केवल प्रशासनिक केन्द्र मात्र होइन, उपल्लो डोल्पा र प्रमुख पर्यटकीय गन्तव्यतर्फ जाने मुख्य प्रवेशद्वार हो,” उनले बताए।

जिल्ला प्रशासन कार्यालय, अदालत, प्रहरी तथा अन्य सरकारी निकाय रहेको दुनै शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र फोक्सुण्डो तालतर्फ जाने यात्रुहरूको प्रमुख नाका पनि हो। त्यसैले पूर्वाधार सुदृढीकरणले प्रशासनिक सेवा, स्थानीय जीवनस्तर र पर्यटन प्रवर्द्धन—तीनै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

१६ करोडको यो लगानीसँगै दुनै अब केवल सदरमुकाम होइन, कर्णालीको सम्भावनाशील सहरी केन्द्रका रूपमा उभिने संकेत देखिएको छ।

प्रतिक्रिया