ओमानमा भाग्य फेर्ने तयारीमा नेपाल: विश्वकप छनोटमा नयाँ इतिहास लेख्ने अवसर

ecopolinews.com

ओमानमा सुरु हुन लागेको आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली तयार भएको छ। अघिल्ला वर्षहरूमा ओमानमा सुखद नतिजा निकाल्न नसकेको नेपालका लागि यो पटक नयाँ कथा लेख्ने अवसरको रूपमा आएको छ।

नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक शृंखला जितेर फर्किएको उत्साहका साथ ओमान प्रवेश गरेको हो। पहिलो अभ्यास खेलमै नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले पराजित गर्दै आत्मविश्वासी सुरुवात गरिसकेको छ। अब टोली विश्वकपमा दोहोर्‍याएर तेस्रो पटक प्रवेश गर्ने लक्ष्यमा केन्द्रित छ।

ओमान नेपाली क्रिकेटका लागि विगतमा धेरैपटक चुनौतीपूर्ण मैदान साबित भएको छ। सन् २०२४ मा भएको एसीसी प्रिमियर कपमा नेपाल सेमिफाइनलमा यूएईसँग पराजित हुँदै एसिया कपको ढोका बन्द भएको थियो। त्यसअघि २०२२ मा पनि ओमानमै भएको विश्वकप छनोट ‘ए’ प्रतियोगितामा नेपाल सेमिफाइनलमै रोकिएको थियो। यस्तै २०१९ को पाँचदेशीय सिरिजमा नेपालले हङकङ र नेदरल्यान्ड्सलाई हराए पनि ओमान र आयरल्यान्डसँग हार भोगेको थियो। ओमानसँगको खेलमा नेपाल ६४ रनमै अलआउट भएको त्यो नतिजा अझै पनि चर्चा गरिन्छ।

यद्यपि, अहिलेको टोलीमा त्यस्तो निराशाजनक इतिहास तोड्ने क्षमता देखिन्छ। वेस्ट इन्डिज जस्तो दुई पटकको विश्वविजेतालाई हराएको अनुभव, इंग्ल्यान्डदेखि अस्ट्रेलिया सम्मको अभ्यास र खेलाडीहरूको आत्मविश्वासले नेपाली टोलीलाई मजबुत बनाएको छ। कप्तान रोहित पौडेलले पछिल्लो श्रृंखलापछि भनेका थिए, “हामीलाई पर्याप्त अनुभव र प्रेरणा मिलिसकेको छ। अब हाम्रो ध्यान विश्वकपमा छनोटमा केन्द्रित छ।”

यो छनोट प्रतियोगितामा नौ टोली सहभागी छन्। तीन समूहमा बाँडिएको यस प्रतिस्पर्धामा नेपाल जापान र कुवेतसँग समूह ‘ए’ मा रहेको छ। समूह चरण पार गर्न नेपाललाई कम्तीमा एक खेल जित्न आवश्यक छ। त्यसपछि सुपर सिक्स चरणमा पुगेर यूएई, ओमान, मलेसिया र पपुवा न्युगिनी जस्ता बलिया टोलीसँग भिडन्त हुने अपेक्षा छ। शीर्ष तीन स्थानमा पर्न सके नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकपमा स्थान सुरक्षित गर्नेछ।

विगतका असफलताले ओमान नेपाली क्रिकेटका लागि कठिन स्थल बने पनि यसपटक परिस्थिती फरक छ। खेलाडीहरू अनुभव र आत्मविश्वासले भरिएका छन्, र टोलीमा सकारात्मक ऊर्जा झल्किएको छ। नेपाली क्रिकेटका समर्थकहरू यस पटक ओमानमै भाग्य फेर्ने र विश्वकपको टिकट काट्ने आशामा छन्।

प्रतिक्रिया