स्लोभाकिया रोजगारीको नाममा लाखौं ठगी गर्ने ठग ललितपुरबाट पक्राउ

ecopolinews.com

काठमाडौं । वैदेशिक रोजगारीको नाममा आकर्षक तलब दिने प्रलोभन देखाई लाखौं रूपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका–१२ बस्ने, बागमती गाउँपालिका–५ घर भएका ३१ वर्षीय छबिन्द्र हुमागाईलाई ठगीको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो।

उनीमाथि स्लोभाकिया पठाइदिन्छु भन्दै ३ जना पीडितसँग ५ लाख ३१ हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएको गुनासो परेको थियो। पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार हुमागाईले रोजगारीको नाममा सजिलै विदेश पठाइदिन्छु भन्दै विश्वास दिलाएर रकम असुल्ने र त्यसपछि सम्पर्क विच्छेद गर्ने गरेको पाइएको छ। पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। स्रोत : खरिबोट

प्रतिक्रिया