काठमाडौँमा विश्वकपको रौनक र प्रशासनको कडाइ: ठूलो पर्दामा खेल देखाउन पूर्वअनुमति अनिवार्य

ecopolinews.com

काठमाडौँ । विश्वकप फुटबलको महाकुम्भ सुरु हुनै लाग्दा जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै खेल प्रदर्शनमा नयाँ र कडा नियम लागू गरेको छ। अब काठमाडौँ जिल्लाभित्र विश्वकप फुटबलका खेलहरू ठूलो पर्दा वा प्रोजेक्टरमा लगाएर सामूहिक रूपमा हेर्न र देखाउन प्रशासनको पूर्वअनुमति लिनु अनिवार्य गरिएको छ।

यही जेठ २९ गते (२०८३/०२/२९) देखि सुरु हुन गइरहेको फिफा विश्वकप फुटबल २०२६ का खेलहरू प्रायः रातिको समयमा प्रसारण हुने र त्यस्ता सामूहिक प्रदर्शनमा अत्यधिक भीडभाड हुने भएकाले समुदायमा नकारात्मक असर पर्नुका साथै शान्ति–सुरक्षामा गम्भीर चुनौती सिर्जना हुन सक्ने भन्दै प्रशासनले यो नियमनकारी कदम चालेको हो। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी गरिएको आधिकारिक सूचनामा पूर्वस्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड जम्मा गरेर शान्ति सुरक्षा खल्बल्याउने कुनै पनि गतिविधि नगर्न र नगराउन सम्बद्ध सबैलाई कडा निर्देशन दिइएको छ।

प्रशासनको नयाँ व्यवस्थाअनुसार विश्वकपका खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि क्लब, संघ-संस्था वा कम्पनीले अब जिल्ला प्रशासन कार्यालय काठमाडौंको आधिकारिक वेबसाइटमार्फत तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ। प्रशासनले प्राप्त निवेदनमा उल्लेख गरिएका सर्तहरू र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलताको सुक्ष्म विश्लेषण गरेपछि मात्रै खेल प्रदर्शनको अनुमति प्रदान गर्ने स्पष्ट पारेको छ।

यस नियमको अवज्ञा गर्नेहरूमाथि स्थानीय प्रशासन र प्रहरीले कडा निगरानी राख्ने भएको छ। जारी सूचनाको बेवास्ता गरी पूर्वस्वीकृतिविना विश्वकपका खेल प्रदर्शन गरेको, अनावश्यक भीडभाड गराएको वा खेलको नाममा कुनै पनि अवाञ्छित तथा गैरकानुनी गतिविधि सञ्चालन गरेको पाइएमा आयोजकलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ। सार्वजनिक हित र शान्ति–सुरक्षा कायम राख्न यो नियम पूर्ण रूपमा पालना गर्न कार्यालयले सम्पूर्ण नागरिक तथा सरोकारवाला पक्षहरूसँग विशेष अपिलसमेत गरेको छ।


प्रतिक्रिया