काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकका लागि महत्वपूर्ण परिवर्तन हुने भएको छ। आगामी पुस १ गतेदेखि स्वास्थ्य बीमामा नयाँ आबद्धता र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको हो।
स्वास्थ्य बीमा बोर्डको असोज १२ गते बसेको बैठकले १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचयपत्रमा आधारित व्यवस्था लागू गर्ने निर्णय गरेको छ। यससँगै स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्ध हुने तथा पुरानो बीमा नवीकरण गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रको विवरण आवश्यक पर्नेछ।
एचआइबी ई–पोर्टलबाट विवरण अद्यावधिक
बोर्डले पुस १ गतेदेखि सम्पूर्ण बीमित परिवारलाई एचआइबी ई–पोर्टलमार्फत आफ्नो विवरण अद्यावधिक गर्न समेत आग्रह गरेको छ।
राष्ट्रिय परिचयपत्रलाई स्वास्थ्य बीमा प्रणालीसँग जोड्दा बीमितको वास्तविक पहिचान सुनिश्चित हुनुका साथै एउटै व्यक्तिको दोहोरो आबद्धता नियन्त्रण गर्न सहयोग पुग्ने बोर्डको अपेक्षा छ।
त्यसैगरी केवाईसी विवरण अद्यावधिक, दाबी व्यवस्थापन तथा बीमा सेवाको विश्वसनीयता बढाउने उद्देश्यले नयाँ व्यवस्था लागू गर्न लागिएको बोर्डले जनाएको छ।
स्वास्थ्य सेवा खरिद प्रणालीमा पनि सुधारको तयारी
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा खरिद तथा भुक्तानी प्रणालीलाई थप वैज्ञानिक, लागत प्रभावकारी र दिगो बनाउन बोर्डले रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ।
कार्यदलले स्वास्थ्य सेवा प्रदायक संस्थाको छनोट, सम्झौताको आधार, सेवाको वर्गीकरण तथा भुक्तानी विधिलगायत विषय समेटेर ६० दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ।
बोर्डका अनुसार प्रस्तावित सुधारले स्वास्थ्य बीमा कोषको वित्तीय दिगोपना, स्वास्थ्य सेवाको गुणस्तर, लागत नियन्त्रण र दाबी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यससँगै आगामी पुस १ गतेदेखि लागू हुने राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थाले स्वास्थ्य बीमा प्रणालीमा पहिचानको एकरूपता र डिजिटल अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।