काभ्रेपलाञ्चोक, ७ भदौ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित प्रसिद्ध पलाञ्चोक भगवतीको मूर्तिमा शनिबार साँझ आरतीका क्रममा ‘पसिना’ देखिएपछि मन्दिरमा विशेष पूजा गरिएको छ।
आरती गर्ने क्रममा भगवतीको मूर्तिमा पसिना देखिएपछि मूर्तिलाई स्नान गराई तान्त्रिक विधिबाट क्षमा पूजा गरिएको मन्दिर व्यवस्थापन उपसमितिका पूर्व संयोजक किरण श्रेष्ठले जानकारी दिए।
स्थानीय धार्मिक विश्वासअनुसार पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आउनुलाई देशमा आउन सक्ने दैवी विपत्ति, प्राकृतिक प्रकोप वा राजनीतिक संकटको संकेतका रूपमा लिने गरिन्छ। श्रेष्ठका अनुसार विगतमा पनि देशमा ठूला संकट तथा विपत्ति आउनुअघि मूर्तिमा यस्ता असामान्य संकेत देखिएको विश्वास रहँदै आएको छ।
मन्दिर व्यवस्थापन पक्षका अनुसार १९९० सालको भूकम्पदेखि २०५८ सालको दरबार हत्याकाण्ड, २०७२ सालको विनाशकारी भूकम्प, २०८१ सालको बाढीपहिरो तथा गत वर्षको जेनजी आन्दोलनका समयमा समेत पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आएको बताइन्छ।
यद्यपि, मूर्तिमा ‘पसिना’ देखिनुलाई धार्मिक आस्था र स्थानीय विश्वाससँग जोडेर हेर्ने गरिएको छ। यसको वैज्ञानिक कारणबारे भने छुट्टै अध्ययन आवश्यक हुन्छ।
करिब १ हजार ६५५ वर्ष पुरानो ऐतिहासिक धरोहर
पलाञ्चोक भगवतीको मन्दिर नेपालको प्राचीन धार्मिक तथा सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ। मन्दिर करिब १ हजार ६५५ वर्षअघि अर्थात् इस्वी संवत् ४२५ तिर निर्माण भएको धार्मिक इतिहास तथा स्थानीय किंवदन्तीमा उल्लेख पाइन्छ।
पलाञ्चोक भगवतीलाई भगवतीका तीन दिदीबहिनीमध्ये जेठी भगवतीका रूपमा समेत मान्ने गरिन्छ। नाला भगवती, नक्साल भगवती र शोभा भगवतीसँग जोडिएको किंवदन्तीअनुसार कालीगढले एउटै समयमा फरक–फरक तरिकाले यी देवीका मूर्ति निर्माण गरेको जनविश्वास छ।
सपनामा प्रकट भएको किंवदन्ती
स्थानीय किंवदन्तीअनुसार जिल्लाको बुच्चाकोटमा रहेको भगवतीको मूर्ति एक स्थानीय वृद्धको सपनामा प्रकट भई आफूलाई उत्तरतर्फ सार्न आग्रह गरेको भनाइ छ।
मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हाल मन्दिर रहेको स्थानमा रात परेपछि त्यहीँ बास बसेको र भोलिपल्ट मूर्तिलाई अन्यत्र लैजान खोज्दा उठाउन नसकिएको किंवदन्ती छ। स्थानीय ६० घरधुरीले मिलेर प्रयास गर्दासमेत मूर्ति उठाउन नसकेपछि त्यही स्थानमा स्थापना गरी पूजाआजा सुरु गरिएको जनविश्वास छ।
दशैंमा विशेष भीड
पलाञ्चोक भगवतीको दर्शनका लागि वर्षभरि नै भक्तजन पुग्ने गरेका छन्। विशेषगरी दशैंको नवरात्रिमा मन्दिरमा ठूलो भीड लाग्ने गर्छ। परम्पराअनुसार हाँस, बोका, राँगा लगायतको बलि दिने चलनसमेत रहेको छ।
दशैंबाहेक वैशाख पूर्णिमा, माघे सङ्क्रान्ति, जेठ पूर्णिमालगायतका अवसरमा मन्दिर परिसरमा मेला लाग्ने गर्दछ। वैशाख पूर्णिमा र दशैंको एकादशीका दिन रथ निर्माण गरी मन्दिर परिक्रमा गराउने परम्परा पनि रहेको छ।
पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि मन्दिरको पूजा, गुठी तथा विभिन्न धार्मिक कार्यका लागि पुजारी, गुठियार र अन्य समुदायका व्यक्तिहरूको जिम्मेवारी निर्धारण गरिएको स्थानीय परम्परामा उल्लेख छ।
पलाञ्चोक भगवतीको मूर्तिमा फेरि देखिएको ‘पसिना’ले स्थानीय धार्मिक आस्था र पुरानो विश्वासलाई पुनः चर्चामा ल्याएको छ। यसलाई भक्तजनले आस्थाको संकेतका रूपमा लिएका छन् भने यसको वास्तविक भौतिक कारणबारे वैज्ञानिक अध्ययन हुनुपर्ने आवश्यकता पनि देखिन्छ।pc:onlinekhabar