नेपाल–भारतबीच उच्चस्तरीय संवाद : प्रधानमन्त्री कार्की र मोदी आज भिडिओमार्फत छलफल

ecopolinews.com

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतका समकक्षी नरेन्द्र मोदीबीच आज (बिहीबार) भिडिओमार्फत उच्चस्तरीय संवाद हुने भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दुवै नेताबीचको वार्तामा द्विपक्षीय सम्बन्ध, पारस्परिक हितका विषय, विकास–निर्माण सहयोग र आगामी दिनको सहकार्यबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए। भेटमा उनले भारत नेपालको उन्नति, समृद्धि, पुनःनिर्माण र स्थिरताको पक्षमा सधैं सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। त्यही क्रममा प्रधानमन्त्री कार्कीले पनि भारतीय प्रधानमन्त्रीसँग विस्तृत संवाद गर्ने तयारी रहेको बताएकी थिइन्।

प्रधानमन्त्री बनेपछि मोदीले कार्कीलाई बधाई दिँदै नेपालको समृद्धि र लोकतान्त्रिक प्रक्रियाको सफलताका लागि शुभकामना दिएका थिए। साथै, मणिपुरमा आयोजित एक कार्यक्रममा उनले नेपालको असामान्य परिस्थितिमा नागरिक सरकार गठन हुनुलाई सकारात्मक उपलब्धि भएको टिप्पणी गरेका थिए।

जेन–जी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेका हुन्। त्यही राति संसद विघटन गरी आगामी फागुन २१ गतेका लागि आम निर्वाचनको मिति घोषणा गरिएको थियो।

अहिले अन्तरिम सरकारको प्रमुख जिम्मेवारी ६ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने रहेको छ।

प्रतिक्रिया