काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यका लागि सिफारिस भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्यालको नाम राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको एक मन्त्रीले शिलापत्रलाई जानकारी दिएका छन् ।
संविधानअनुसार राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यका लागि सरकारले नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । यही प्रावधानअनुसार मन्त्रिपरिषद्ले अर्यालको नाम अघि बढाएको हो ।
यस एक सिटका लागि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच फरक-फरक रुचि देखिएको चर्चा राजनीतिक वृत्तमा चलेको थियो । प्रधानमन्त्रीको प्राथमिकतामा अर्याल रहेका बेला राष्ट्रपतिले अन्य व्यक्तिको नाम चाहेको विवरण बाहिरिएको थियो ।
तर अन्ततः मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्कीकै चाहनाअनुसार अर्यालको नाम अनुमोदन गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । अब संविधानअनुसार राष्ट्रपतिले अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने औपचारिक प्रक्रिया बाँकी रहेको छ ।