हिरासतभित्र मृत्यु, प्रहरीमाथि कारबाही सिफारिस-श्रीकृष्ण विक प्रकरणले उठायो गम्भीर प्रश्न

ecopolinews.com

सिन्धुली । श्रीकृष्ण विक को प्रहरी हिरासतभित्र भएको मृत्यु प्रकरणमा छानबिन समितिले प्रतिवेदन बुझाउँदै दुई प्रहरी कर्मचारीमाथि विभागीय कारबाही सिफारिस गरेको छ । घटनाले प्रहरी हिरासतको सुरक्षा, अनुसन्धान प्रक्रिया र मानवअधिकारको विषयलाई पुनः बहसको केन्द्रमा ल्याएको छ ।

प्रहरी प्रधान कार्यालयमा बुझाइएको प्रतिवेदनमा बसन्त भुजेल र प्रहरी जवान अर्जुन सिंह माथि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । साथै इन्स्पेक्टर भुजेललाई सरुवा गरिएको जानकारी समेत सार्वजनिक भएको छ ।

प्रहरीका अनुसार ३ वैशाखमा बेपत्ता भनिएकी १६ वर्षीया किशोरी र श्रीकृष्ण विक आफन्तहरूसहित प्रहरी वृत्त सातदोबोटा पुगेका थिए । प्रारम्भमा खोजतलासका लागि निवेदन दिइएको भए पनि पछि किशोरीका आफन्तले बलात्कारको आरोपसहित जाहेरी दर्ता गराएका थिए ।

घटनास्थल सिन्धुली रहेको र किशोरी नाबालिका भएकाले दुवैलाई ४ वैशाखमा सिन्धुली पठाइएको थियो । त्यसपछि श्रीकृष्णलाई इलाका प्रहरी कार्यालय खुर्कोट मा राखेर बलात्कार मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यसबीच खगेन्द्र सुनार ले किशोरीलाई दबाब दिएर बलात्कारको जाहेरीमा हस्ताक्षर गराइएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन माग गरेका छन् । उनको अभिव्यक्तिपछि यो प्रकरण राजनीतिक र सामाजिक बहसको विषय बनेको छ ।

प्रहरीका अनुसार अनुसन्धानकै क्रममा ७ वैशाख साँझ करिब ६ बजे श्रीकृष्ण विक हिरासतभित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए । तत्काल उद्धार गरी उपचारका लागि लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

छानबिन प्रतिवेदनपछि अब प्रहरी संगठनभित्रको निगरानी प्रणाली, हिरासत व्यवस्थापन र अनुसन्धान प्रक्रियामा गम्भीर कमजोरीबारे प्रश्न उठ्न थालेका छन् । मानवअधिकारकर्मी तथा नागरिक समाजले घटनाको पूर्ण सत्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरिरहेका छन् ।

प्रतिक्रिया