काठमाडौँ, असोज ५ – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा आविष्कारक तथा सामाजिक अभियन्ता महावीर पुनलाई मन्त्री बनाउन तयारी भएको छ। कार्कीसँगको छलफलपछि पुन मन्त्रालय सम्हाल्न तयार भएका हुन्।
पुनलाई विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिने तयारी भए पनि हाल शिक्षा मन्त्रालय पनि सोहीसँग जोडिएकाले दुवै जिम्मेवारी दिने वा विज्ञान तथा प्रविधिमात्रै दिने भन्ने विषयमा अन्तिम टुंगो लागिसकेको छैन।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले नेपालका दुर्गम भेगमा ताररहित इन्टरनेट सेवा विस्तारको अभियान सुरु गरेका थिए। यसै योगदानका लागि उनले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए।
यसैबीच मन्त्रिपरिषद्मा दलित समुदायको प्रतिनिधित्व हुने गरी अर्को एक मन्त्री थप्ने तयारी पनि भइरहेको छ। हाल प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालसहित चार सदस्यीय मन्त्रिपरिषद् कार्यरत छ।
कार्की जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री बनेकी हुन्। मन्त्रिपरिषद् विस्तारको गृहकार्य तीव्र पारिएको र यसअघि नै पहिलो बैठक सम्पन्न भइसकेको छ।