प्रधानाध्यापक थर्काएको भिडियो भाइरल भएपछि सांसद विश्वराज पोखरेलले मागे माफी

ecopolinews.com

काठमाडौँ - आफ्नै जिल्लाका एक प्रधानाध्यापकलाई अमर्यादित शैलीमा थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्व एआइजी विश्वराज पोखरेलले माफी मागेका छन्। ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–२ स्थित चण्डेश्वरी माविका प्रधानाध्यापकले आफूलाई स्वागत गर्न नआएको भन्दै आक्रोश पोखेका पोखरेलले चौतर्फी आलोचना भएपछि प्रेस विज्ञप्ति जारी गर्दै खेद प्रकट गरेका हुन्।

विज्ञप्तिमा उनले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो काटछाँट गरेर ल्याइएको र त्यसले वास्तविकताको पूर्ण चित्रण नगरेको दाबी गरे पनि आफ्नो व्यवहारमा कमजोरी रहेको स्वीकार गरेका छन्। उनले यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र आउँदा घटना विकृत हुन पुगेको बताउँदै अपूर्ण तथ्यका कारण सिर्जना भएको विवादप्रति क्षमायाचना गरेका छन्।

उनले सार्वजनिक जीवनमा रहँदा आफ्नो बोली, व्यवहार र संयम उच्च स्तरको हुनुपर्ने कुरालाई आत्मसात् गर्दै, कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए तापनि आफूले धैर्य र मर्यादा राख्नुपर्ने स्वीकार गरेका छन्

के थियो घटना?

पूर्व एआइजी समेत रहेका सांसद पोखरेलले विद्यालय भ्रमणका क्रममा प्रधानाध्यापकलाई "म आउँदा तपाईं निस्किनुपर्छ, तपाईं कर्मचारी हो, म रिटायर्ड विशिष्ट श्रेणीको कर्मचारी र जिल्लाको माननीय हुँ" भन्दै थर्काएका थिए। आफू आउँदा हेडमास्टर भित्रै बसेको भन्दै उनले देखाएको अहङ्कारी शैलीको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको कडा आलोचना भएको थियो। यसअघि पनि विभिन्न प्रसंगमा विवादमा आइरहने पोखरेलले यसपटक भने आफ्नो व्यवहारप्रति आत्मलोचना गर्दै पछि हटेका हुन् 


प्रतिक्रिया