तीन स्थानबाट जुलुस, भृकुटीमण्डपमा महासभा: नेकपाको एकता सन्देश के हो?

ecopolinews.com

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्न लागेको ‘एकता सन्देश सभा’ मा करिब ५० हजार मानिसको सहभागिता रहने दाबी गरेको छ। बागमती प्रदेश, विशेष प्रदेश तथा सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको यस सभालाई वाम एकताको सशक्त प्रदर्शनका रूपमा लिइएको छ।

नेकपाका नेता रामकुमार भट्टराईका अनुसार बिहान ११:३० बजे सुनधारा, नयाँ सडक चोक र शान्ति बाटिकाबाट जुलुसहरू एकत्रित हुनेछन्। सबै समूह एकीकृत भएपछि दिउँसो सवा १२ बजेबाट जुलुस सुरु भई विभिन्न मार्ग हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुनेछ।

उनका अनुसार जुलुसको नेतृत्व पार्टीको दोस्रो तहका नेताहरूले गर्नेछन् भने शीर्ष नेताहरू जुलुसमा नआएर सिधै सभास्थलको मञ्चमा प्रवेश गर्नेछन्। सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। सभा भृकुटीमण्डप क्षेत्रको तीनकुने सडकतर्फ आयोजना हुनेछ।

गत कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १२ वामपन्थी घटकहरू एकीकृत भई नेकपा गठन गरिएको थियो। सोही एकताको सन्देश देशभर पुर्‍याउने उद्देश्यले पार्टीले मंसिर १२ गतेदेखि सातै प्रदेशमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै आएको छ।

शनिबारको भृकुटीमण्डप सभा वाम एकताको भावी दिशा र राजनीतिक सन्देश स्पष्ट पार्ने महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ।

प्रतिक्रिया