रविन्द्र कट्टेल - काठमाण्डौ - नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी सँगै काठमाडौं क्षेत्र नम्बर ७ को राजनीतिक वृत्तमा एउटा फरक र आशालाग्दो तरंग पैदा भएको छ। यस तरंगको केन्द्रमा छन्- दिपेश धिताल। केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रूपमा मैदानमा उत्रिएका धिताल केवल एक परम्परागत अनुहार होइनन्, उनी नेपाली कांग्रेसभित्र पुस्तान्तरण र वैचारिक रूपान्तरणको बलियो कडीका रूपमा उदाएका छन्। नेपाल तरुण दल र नेपाल मानव अधिकार संगठनको केन्द्रीय नेतृत्वमा रहेर खारिएका उनी, राजनीतिलाई सत्ताको भर्याङ मात्र नमानेर समाजसेवासँग जोड्ने नयाँ राजनीतिक संस्कारका एक सशक्त अभियन्ता हुन्। २०८३ असोजमा तय भएको महाधिवेशनले पार्टीको समग्र दिशा तय गर्दै गर्दा, धितालको उम्मेदवारीले नवीन नेतृत्वको आवश्यकतालाई जोडदार रूपमा बहसमा ल्याएको छ।
धितालको राजनीतिक यात्रा केवल भाषण र आश्वासनमा सीमित छैन; यो नागरिकको आँसु र विपद्सँग प्रत्यक्ष जोडिएको छ। कोरोना महामारीको शून्यता र त्रासदी होस् वा भोटेकोशीको बाढीले निम्त्याएको विनाश- उनी सधैँ अग्रपङ्क्तिमा रहेर उद्धार र राहतमा खटिए। सङ्कटका बेला राजनीतिक आवरणभन्दा माथि उठेर मानवीय सेवामा समर्पित हुनुले उनको सादगी र उच्च सामाजिक उत्तरदायित्वलाई पुष्टि गर्छ। जनताको दुःखमा निरन्तर साथ दिने यही प्रवृत्तिले उनलाई एक आम कार्यकर्ताबाट माथि उठाएर भरोसायोग्य जनसेवकका रूपमा स्थापित गरेको छ।
उनको उम्मेदवारीको सबैभन्दा शक्तिशाली पक्ष भनेको स्पष्ट र युग सुहाउँदो वैचारिक दृष्टिकोण हो। पार्टी संरचनालाई केवल चुनावका बेला ब्युँझिने मौसमी संयन्त्रबाट मुक्त गरी जनतासँग निरन्तर जोडिने जीवन्त सङ्गठन बनाउने उनको अठोट छ। राजनीतिमा युवाको सहभागिता केवल नारा र तालीमा सीमित हुनुहुँदैन भन्ने मान्यता राख्ने धिताल, युवा शक्तिलाई सीप, उद्यमशीलता र रोजगारीसँग जोड्दै पार्टीभित्रै नेतृत्व विकासको अर्थपूर्ण अवसर सिर्जना गर्न चाहन्छन्। यसका साथै, पार्टीको निर्णय प्रक्रियामा पूर्ण पारदर्शिता, जवाफदेहिता र विपद्मा तत्काल परिचालन हुन सक्ने सेवामुखी संरचनाको निर्माण उनको प्रमुख वैचारिक एजेण्डा हो। कांग्रेसका आधारभूत सिद्धान्त-राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आजको व्यवहारिक जीवनशैली र लोकतान्त्रिक संस्कारसँग जोड्न उनी प्रतिबद्ध देखिन्छन्।
"जोस मात्र होइन, होस् पनि आवश्यक छ" भन्ने यथार्थपरक भाष्यलाई आत्मसात् गरेका धितालले आफूलाई केवल एक महत्त्वाकांक्षी युवाका रूपमा होइन, अग्रजको सुझबुझ र युवाको ऊर्जालाई जोड्ने पुलका रूपमा प्रस्तुत गरेका छन्। 'सक्षम युवा नेतृत्व, समृद्ध नेपाल' को नारालाई सार्थक बनाउन अनुभव, सांगठनिक क्षमता र सामाजिक उत्तरदायित्वको त्रिवेणी आवश्यक पर्छ भन्ने उनको बुझाइले कांग्रेसभित्र चलिरहेको नेतृत्व विकासको बहसमा एउटा परिपक्व इँटा थपेको छ। उनी कुनै एक गुट वा समूहको मात्र नभई, पार्टीको वर्तमान आवश्यकता र भविष्यको सम्भावनाका प्रतिनिधि हुन्।
नेपाली कांग्रेसको आगामी दिशा, सुशासन र सङ्गठनात्मक भविष्य तय गर्ने ऐतिहासिक १५औँ महाधिवेशनको संघारमा, दिपेश धितालको उम्मेदवारीले प्रतिनिधिहरूमाझ एउटा गम्भीर प्रश्न र अवसर दुवै खडा गरेको छ। यो केवल एक व्यक्तिको जित वा हारको विषय होइन; यो त कांग्रेसले अब कस्तो नेतृत्व, कस्तो सांगठनिक सक्रियता र कस्तो सामाजिक उत्तरदायित्वलाई अनुमोदन गर्छ भन्ने ऐतिहासिक मूल्याङ्कनको कसी हो। धितालको विचार, अनुभव र सेवाभावले महाधिवेशन प्रतिनिधिहरूलाई एक सक्षम, पारदर्शी र जनउत्तरदायी नेतृत्व छनोट गर्नका लागि निकै बलियो र विचारोत्तेजक आधार प्रदान गरेको छ। अन्ततः, उनको यही वैचारिक र व्यावहारिक स्पष्टताको मूल्याङ्कनले काठमाडौं क्षेत्र नं. ७ को मात्र नभई, समग्र कांग्रेसको रूपान्तरणको एउटा दिशा तय गर्नेछ।