पत्रकार कमल बोहोरामाथि सांघातिक आक्रमण: संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन पत्रकार महासंघको कडा माग

ecopolinews.com

काठमाडौँ । अनियमितता र भ्रष्टाचारसम्बन्धी समाचार लेखेको विषयलाई लिएर 'पालिका समय डटकम' का सम्पादक कमल बोहोरामाथि भएको साङ्घातिक आक्रमणको नेपाल पत्रकार महासंघले कडा शब्दमा निन्दा गरेको छ। महासंघले यस घटनालाई स्वतन्त्र पत्रकारिता र प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भन्दै आक्रमणमा संलग्न समूहलाई तत्काल पहिचान गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न सरकार र सम्बन्धित सुरक्षा निकायसँग जोडदार माग गरेको छ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले दिएको जानकारीअनुसार, यही जेठ २४ गते राति करिब ९ बजेको समयमा एक अज्ञात समूहले सम्पादक बोहोरामाथि एक्कासि आक्रमण गरेको थियो। समाचार प्रकाशन गरेकै झोंकमा भएको उक्त अमानवीय कुटपिटबाट पत्रकार बोहोराको अनुहार, हात र खुट्टामा चोट लागेको छ। महासंघले यस दुःखद घडीमा घाइते पत्रकार बोहोराको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जेठ २५ गते जारी गरिएको आधिकारिक विज्ञप्तिमा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने यस्ता आपराधिक हर्कतप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, "प्रकाशित समाचारप्रति चित्त नबुझे वा असहमति रहेमा खण्डन गर्ने वा प्रेस काउन्सिललगायतका प्रचलित विधि र कानुनी प्रक्रियामार्फत समाधान खोज्नुको साटो पत्रकारमाथि नै भौतिक आक्रमणमा उत्रिनु पूर्णतः निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी हर्कत हो।"

महासंघले समाजमा हुने अनियमिततालाई उजागर गर्ने सञ्चारकर्मीमाथि हुने यस्ता आक्रमणले कानुनी राज्यको उपहास गरेको ठहर गर्दै घटनामा संलग्न जो कोही भए पनि उनीहरूलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने स्पष्ट पारेको छ। यस घटनाले सिङ्गो सञ्चार जगत्‌लाई त्रसित बनाएको भन्दै महासंघले पत्रकारहरूको भौतिक सुरक्षाको पूर्ण प्रत्याभूति गराउन राज्यको ध्यानाकर्षण गराएको छ।


प्रतिक्रिया