भोटेकोशी बाढीको पीडामा तरुण दलको साथ: १५० भन्दा बढी युवा बने ‘रक्तदाता’

ecopolinews.com

रविन्द्र कट्टेल - काठमाडौँ, भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट घाइते भएका नागरिकको उपचारमा रगतको अभाव हुन नदिन नेपाल तरुण दल केन्द्रीय समितिले विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। विपद्को कठिन घडीमा रगतको अभावकै कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने मानवीय उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा १५० जनाभन्दा बढी तरुण युवाले उत्साहपूर्वक रक्तदान गरेका छन्।

भोटेकोशी बाढीपहिरोले रसुवामा ठूलो जनधनको क्षति पुर्‍याइरहेको अवस्थामा उद्धार, उपचार र राहतलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग जुटाउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो। घाइते तथा बिरामीको उपचारमा आवश्यक पर्ने रगतको आपूर्ति सहज बनाउन युवाहरूले स्वस्फूर्त रूपमा रक्तदान गर्दै विपद्को समयमा सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालाले विपद्को समयमा नागरिकको सुरक्षा र जीवनरक्षाभन्दा ठूलो प्राथमिकता अरू केही हुन नसक्ने बताउनुभयो। जनता नै राष्ट्रको मूल आधार र सार्वभौम शक्ति भएको उल्लेख गर्दै उहाँले जनताको दुःखमा साथ दिनु र संकटमा सहयोग गर्नु तरुण युवाको प्रमुख दायित्व भएको धारणा व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “जनताको सुरक्षा र अधिकारभन्दा ठूलो अरू केही छैन, जनता नै यो राष्ट्रका सार्वभौम मालिक हुन्।”

विपद्का बेला राजनीतिक सीमाभन्दा माथि उठेर मानवीय सेवामा जुट्नुपर्नेमा जोड दिँदै अध्यक्षले घाइतेको उपचारदेखि राहत तथा उद्धारसम्मका हरेक काममा तरुण युवाहरू अग्रपङ्क्तिमा उभिनुपर्ने बताउनुभयो। जनताको आँसु पुछ्ने र घाइतेको घाउमा मलम लगाउने काममा तरुणहरू कहिल्यै पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले देशभरका तरुण युवालाई आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न विशेष आह्वानसमेत गर्नुभयो।

“विपद् कसैको राजनीतिक आस्था, भूगोल वा वर्ग हेरेर आउँदैन। यस्तो समयमा सबैभन्दा पहिले मानवता र नागरिकको जीवन बचाउने दायित्व आउँछ,” उहाँको भनाइ थियो।

रक्तदान कार्यक्रममा सहभागी युवाहरूले समेत संकटमा परेको नागरिकको जीवन बचाउन आफ्नो रगत दिन पाउनु नै सबैभन्दा ठूलो सामाजिक सेवा भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले भोटेकोशी बाढीपहिरो प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भोटेकोशीमा आएको विपद्ले राज्यका संयन्त्र, राजनीतिक दल, सामाजिक संघसंस्था तथा आम नागरिक सबैलाई एकजुट भएर मानवीय सेवामा जुट्नुपर्ने सन्देश दिएको छ। यही भावनालाई आत्मसात् गर्दै नेपाल तरुण दलले रक्तदानसँगै विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धारका अन्य मानवीय गतिविधिमा समेत सक्रिय सहभागिता जनाउने जनाएको छ।

विपद्मा भाषणभन्दा सेवा ठूलो हुन्छ, आश्वासनभन्दा सहयोग ठूलो हुन्छ-रगतको एक थोपा पनि संकटमा परेको नागरिकका लागि जीवनको आशा बन्न सक्छ। भोटेकोशीका घाइतेका लागि १५० भन्दा बढी तरुण युवाले दिएको रक्तदान त्यही मानवीय संवेदनाको शक्तिशाली उदाहरण बनेको छ।

प्रतिक्रिया