प्रधानमन्त्री कार्कीको स्पष्ट निर्देशन: एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउन प्रशिक्षण र बजेटमा कुनै सम्झौता हुँदैन

ecopolinews.com

सुजन चीलुवाल - काठमाडौं, २६ माघ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी २०औँ एसियाली खेलकुदमा नेपालले स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यका साथ सञ्चालन हुँदै आएको विशेष प्रशिक्षण कार्यक्रमलाई कुनै पनि हालतमा निरन्तरता दिन निर्देशन दिएकी छिन्।

प्रधानमन्त्री तथा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेकी कार्कीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहता, राष्ट्रिय टोली तयारी निर्देशक तथा ओलम्पियन दीपक विष्ट, उपनिर्देशक दीपक श्रेष्ठसहितको टोलीसँगको भेटमा यस्तो निर्देशन दिएकी हुन्।

आगामी असोज महिनामा जापानमा आयोजना हुने एसियाली खेलकुदको तयारीमा कुनै कमजोरी नहोस् भन्नेमा जोड दिँदै प्रधानमन्त्री कार्कीले आवश्यक बजेट, भौतिक संरचना, प्रशिक्षण सामग्री र खेलाडी सुविधाका लागि सबै प्रकारका बन्दोबस्त मिलाउन सदस्य सचिव मेहतालाई स्पष्ट निर्देशन दिएकी छिन्।

राखेपले विगत दुई वर्षदेखि पदकलाई लक्षित गर्दै १० खेलका ११ राष्ट्रिय टिमलाई विशेष प्रशिक्षण दिँदै आएको छ। तर चालु आर्थिक वर्षका लागि विनियोजित बजेट माघ महिनासम्म मात्र पर्याप्त हुने अवस्था आएपछि बाँकी कार्यक्रम सञ्चालनका लागि थप बजेट व्यवस्थापन गरिदिन निर्देशक दीपक विष्टले प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए।

यस विषयमा प्रधानमन्त्री कार्कीले अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गरी बजेट व्यवस्थापन गर्न निर्देशन दिँदै खेलकुदलाई प्राथमिकतामा राख्ने सरकारको प्रतिबद्धता दोहोर्‍याइन्।

प्रधानमन्त्री कार्कीले “राम्रो तयारी बिना लक्ष्य पूरा हुँदैन” भन्दै फागुन २१ गतेको निर्वाचन सम्पन्न भएसँगै विशेष प्रशिक्षण कार्यक्रमलाई झन् प्रभावकारी रूपमा निरन्तरता दिन पनि स्पष्ट निर्देशन दिएकी छिन्।

नेपालको खेलकुद इतिहासमा नयाँ उपलब्धि हासिल गर्ने अवसर नजिकिँदै गर्दा प्रधानमन्त्रीको यो निर्देशनलाई खेलाडी, प्रशिक्षक र खेलकुद क्षेत्रले उत्साहजनक सन्देशका रूपमा लिएको छ।

प्रतिक्रिया