काठमाडौं । जेन-जी आन्दोलनका क्रममा देशभरका कारागारबाट फरार भएका १४ हजारभन्दा बढी कैदीबन्दीमध्ये हालसम्म ४ हजार ७ सय ७४ जना सम्पर्कमा आएका छन्। कारागार व्यवस्थापन विभागका अनुसार धेरैजसो कैदी स्वस्फूर्त रूपमा फर्किएका हुन् भने केहीलाई नियन्त्रणमा लिनुपरेको छ।
आन्दोलनकै भीडभाडमा केन्द्रीय कारागार जगन्नाथ देवलबाट मात्र ३५ सयभन्दा बढी कैदीबन्दी भागेका थिए। तिनमध्ये नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अहिलेसम्म कारागार नफर्किएको विभागले जनाएको छ।
यस्तै, नख्खु कारागारबाट निस्केका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृह मन्त्री रवि लामिछाने भने कारागारमा हाजिर भइसकेका छन्।
३१ भदौ २०८२, मङ्गलबार ११:४० मा प्रकाशित