काठमाडौं, असोज ३१ ।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नै कार्यपालिका बैठकमा वडाध्यक्षको प्रश्नमा दिएको व्यंग्यात्मक जवाफले बैठकमा हलचल सिर्जना भएको छ।
शुक्रबार बसेको ४३औं कार्यपालिका बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले महानगरले स्काउटको जग्गा भाडामा लिएर अस्पताल बनाउने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त विषयमा वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले असहमति जनाउँदै पहिलो प्राथमिकता महानगरको आफ्नै भवन निर्माण हुनुपर्ने बताएका थिए।
“जनताको करबाट सधैं भाडा तिरेर बस्नुपर्ने अवस्था अन्त्य गर्न महानगरले पहिले आफ्नो भवन बनाउनुपर्छ,” तण्डुकारले भने, “अस्पतालको कुरा पछि होस्, पहिला आफ्नो घर बनाऔं।”
उक्त प्रसंगमा संयोजक तिवारीले अस्पताल निर्माणका लागि स्काउटसँगको भाडा सम्झौता भइसकेको जानकारी दिए पनि, तण्डुकारले सो जग्गा विवादास्पद रहेको र मुद्दा विचाराधीन रहेको स्मरण गराए।
त्यसपछि मेयर बालेनले तण्डुकारको आलोचनालाई हल्का हाँस्यात्मक ढंगमा जवाफ दिँदै भने,
“तिहारपछि भवन निर्माण सुरु हुन्छ भनेको छु। अब तपाईंले नबनोस् भन्न खोज्नु भएको हो?”
तण्डुकारले ‘छिटोछिटो गर्नुपर्छ’ भनेर जोड दिँदा बालेनले हाँस्दै भने,
“तिहार छिट्टै सकिनु भन्छु म। १० दिनको तिहार आजै कसरी सकाइदिउँ?”
बालेनको यो व्यंग्यात्मक प्रतिक्रिया सुनेपछि बैठक हलमा हँसो फैलिएको थियो।
तर वडाध्यक्ष तण्डुकारले भने, “मेयरज्यू, जनताले काम मागेका हुन्, हाँस्य होइन,” भन्दै पुनः असन्तुष्टि जनाएका थिए।
महानगरका अधिकारीहरूले भवन निर्माणको काम तिहारपछि तत्काल सुरु हुने बताउँदै निर्माणस्थलको प्रारम्भिक तयारी पूरा भइसकेको जानकारी दिएका छन्।