काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूको न्यून उपस्थितिलाई लिएर सांसदहरूले कडा आपत्ति जनाएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्। बजेटजस्तो महत्त्वपूर्ण र संवेदनशील विषयमाथिको मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीहरू नै उपस्थित नभएपछि विपक्षी दलका सांसदहरूले सदनमा मन्त्रीहरूको अनिवार्य उपस्थितिको माग गर्दै कडा विरोध जनाएका हुन्।
प्राप्त जानकारीअनुसार, आज ९ वटा विभिन्न मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको थियो। तर, संसद्मा जम्मा ३ जना मन्त्री मात्रै सहभागी भएको देखेपछि विपक्षीले मन्त्रीहरूको खोजी गर्दै संसद् अगाडि बढ्न नदिएका हुन्। सांसदहरूको निरन्तरको विरोध र मन्त्रीहरूको गैरजिम्मेवारीपनपछि सभामुख बैठक रोक्न बाध्य भएका थिए।
हिजो पनि देखिएको थियो उस्तै दृश्य
संसद्मा मन्त्रीहरूको खोजी भएको यो लगातार दोस्रो दिन हो। हिजोको बैठकमा पनि मन्त्रीहरू अनुपस्थित भएपछि नेकपा एमालेका सांसद राजेन्द्र राईले रोस्ट्रममा उभिएरै विरोध जनाएका थिए। मन्त्री नआएसम्म नबोल्ने भन्दै उनी रोस्ट्रममै उभिएर बसेपछि सभामुखले बैठक नै रोकेर मन्त्रीहरूलाई संसद्मा बोलाउनुपरेको थियो।
बजेटमाथिको छलफल चलिरहँदा र जनताका प्रतिनिधिले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्ने विभागीय मन्त्रीहरू नै संसद्मा अनुपस्थित हुँदा सरकारको जवाफदेहिता र संसदीय मर्यादामाथि नै गम्भीर प्रश्न उठेको छ।pc:nepalpress