१५औं महाधिवेशन एकताका साथ सम्पन्न गर्न ३० केन्द्रीय सदस्यको अपिल, विभाजन रोक्न सभापति गगन थापालाई निर्णायक वार्ताको आग्रह

ecopolinews.com

काठमाडौं - नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक विवादले पार्टीलाई कमजोर बनाइरहेको भन्दै ३० जना केन्द्रीय सदस्यहरूले तत्काल विवाद समाधान गरी १५औं महाधिवेशन एकताका साथ सम्पन्न गर्न गम्भीर अपिल गरेका छन्। आन्तरिक कलह र सम्भावित विभाजनले राष्ट्र तथा लोकतन्त्रकै हित नगर्ने चेतावनी दिँदै उनीहरूले संवाद, सहमति र सहकार्यको बाटोबाटै समस्याको निकास खोज्न सिङ्गो नेतृत्व पङ्क्तिको ध्यानाकर्षण गराएका हुन्।

हरेक राष्ट्रिय संकटमा निकास दिँदै आएको कांग्रेस आफैँ आन्तरिक झमेलामा रुमल्लिनु दुःखद भएको उल्लेख गर्दै उनीहरूले विगतका अनुभवबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। विशेष महाधिवेशन र त्यसपछि विकसित घटनाक्रमले उब्जाएका मतभेदलाई पन्छाउँदै आगामी महाधिवेशनमा सबै तहका सदस्यहरू उत्साहका साथ सहभागी हुने वातावरण निर्माण गर्नुपर्ने उनीहरूको जोड छ।

पार्टीलाई विभाजनको दुर्घटनाबाट जोगाउन सभापति गगन थापाको भूमिका निर्णायक हुने ठहर गर्दै नेताहरूले तत्काल दुवै पक्षबाट सार्वजनिक गरिएका महाधिवेशनका पृथक् कार्यतालिकाहरू स्थगित गर्न आग्रह गरेका छन्। सभापति थापाले अग्रसरता लिएर सम्पूर्ण एकताका लागि अविलम्ब निर्णायक वार्ता प्रारम्भ गर्नुपर्ने उनीहरूको भनाइ छ। देश जटिल मोडमा रहेका बेला पार्टीभित्रको गुटबन्दी अन्त्य गरी एकताबद्ध कांग्रेस निर्माण गर्नु नै आजको मुख्य राष्ट्रिय आवश्यकता भएको उनीहरूले स्पष्ट पारेका छन्।



प्रतिक्रिया