काठमाडौं : देशभर बाढीपहिरोबाट प्रभावित नागरिकको निःशुल्क उद्धार कार्यका लागि वायुसेवा संचालक संघ, नेपाल तयार रहेको छ । संघले काठमाडौं उपत्यकाभित्र विपदजन्य घटनामा परेका नागरिकलाई सदस्य हेलिकप्टर कम्पनीहरूबाट निःशुल्क उद्धार गर्ने जानकारी दिएको छ ।
संघका अध्यक्ष मनोज कार्कीले नेपाल नागरिक उड्डयन प्राधिकरण (सिभिल एभिएशन अथोरिटी अफ नेपाल) लाई पठाएको पत्रमा उद्धार कार्यमा समन्वयका लागि समन्वय अधिकारी तोक्न आग्रह गरेका छन् । उनले बताए कि देशका विभिन्न भूभागहरूमा बाढीपहिरो जस्ता विपदजन्य अवस्थामा परेका आम नागरिकको उद्धार कार्यका लागि संघमा आवद्ध हेलिकप्टर कम्पनीहरू तयारी अवस्थामा रहेका छन् ।
‘काठमाडौं उपत्यका भित्र हुने विपदजन्य घटनामा सदस्य वायुसेवा कम्पनी (हेलिकप्टर) हरूले निःशुल्क उद्धार गर्ने तथा उद्धार कार्यमा समन्वय गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचर काठमाडौंलाई समन्वय अधिकारी तोक्न आग्रह गर्दै समन्वय अधिकारीको निर्देशन बमोजिम उद्धार कार्य गर्ने’ अध्यक्ष कार्कीले बताए ।