दुईपटक पराजित भीष्म आङ्देम्बे समानुपातिकको पहिलो नम्बरमा किन ? कांग्रेसको बन्दसूचीले उठायो प्रश्न

ecopolinews.com

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । यसपटकको सूची विशेष रूपमा चर्चामा आएको छ, किनकि कांग्रेसले विगतमा समानुपातिक प्रणालीबाट अवसर पाएकालाई दोहो¥याएको छैन ।

तर, सोही बन्दसूचीमा पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नाम अटाइएपछि राजनीतिक वृत्तमा चासो बढेको छ । कोशी प्रदेशबाट समानुपातिकका लागि सिफारिस भई आएका आङ्देम्बे आदिवासी जनजाति कोटाबाट पहिलो नम्बरमा समावेश हुन खोजेका हुन् ।

आङ्देम्बे पछिल्ला दुई चुनावमा निरन्तर पराजित भएका नेता हुन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका वसन्त नेम्वाङसँग ४७ मतको झिनो अन्तरले पराजित भएका उनी २०७४ मा पनि सोही उम्मेदवारसँग पराजय बेहोर्न पुगेका थिए । दुई पटक लगातार चुनाव हार्नुका साथै जिल्लामा पार्टीभित्रै आधार कमजोर बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै उनले समानुपातिकमार्फत संसद प्रवेशको बाटो खोजेको कांग्रेसभित्र चर्चा छ ।

यद्यपि, कांग्रेस नेतृत्वले भने बन्दसूची समावेशी र सन्तुलित रहेको दाबी गरेको छ ।

पार्टीका प्रवक्ता प्रकाशशरण महतले इकोपोली न्युज मिडियासँग भने,

“नयाँ र पुराना सबैलाई समेटेका छौँ । अनुभवी र युवाको सन्तुलित टोली तयार गरेका हौँ।”

कांग्रेसको यो बन्दसूचीले समावेशीकरण, अवसरको न्यायोचित वितरण र नेतृत्व छनोटको विषयमा पुनः बहस चर्काउने संकेत देखिएको छ ।

प्रतिक्रिया