जेनजी आन्दोलनपछि संविधान दिवस: ध्वस्त संरचनामाझ नेताहरूको आत्मरक्षा खेल

ecopolinews.com
गण्डकी प्रदेशमा मुख्यमन्त्री, पूर्वमुख्यमन्त्री, विपक्षी नेता र सभामुख एउटै मञ्चमा, तर समीक्षा भन्दा बढी प्रतिरक्षामा व्यस्त

पोखरा, ३ असोज ।
जेनजी आन्दोलनको रापले संघीय सरकार फेरेको करिब १० दिनपछि गण्डकी प्रदेशका प्रमुख दलका नेता र सभामुख शुक्रबार एउटै मञ्चमा उभिएका थिए । अवसर थियो—संविधान दिवस, तर बहस संविधान कार्यान्वयनबारे भन्दा बढी दलका नेताहरूको आत्मरक्षामा केन्द्रित भयो ।

२४ भदौको आन्दोलनले गण्डकी प्रदेशसभादेखि मुख्यमन्त्री कार्यालय, मन्त्री र सभामुखका निवाससहित ५० भन्दा बढी संरचना खरानी बनाइसकेको थियो । त्यसैले जोगिएको कृषि मन्त्रालयको हलमै संविधान दिवसको कार्यक्रम भयो, जहाँ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, विपक्षी दल माओवादीका नेता हरिबहादुर चुमान र सभामुख कृष्णप्रसाद धिताल एउटै मञ्चमा भेटिए ।

तर संविधान जारी भएको १० वर्ष र संघीयता कार्यान्वयनको ८ वर्षपछि हुने यस्तो अवसरमा नेताहरूले अपेक्षित समीक्षा भने गरेनन् । कसरी संविधानले जनतामा प्रभाव पार्न सकेन, कहाँ चुकियो, कसले चुक्यो भन्ने गम्भीर प्रश्नमा नजाने नेताहरूले आफ्नो दल र नेतृत्वमाथि प्रश्न उठाउनै चाहेनन् ।

मुख्यमन्त्री पाण्डेले सरकारलाई झक्झक्याउने, संवैधानिक उपायबाट दबाब दिने जस्ता जेनजी आन्दोलनका पक्षलाई स्वागतयोग्य भने पनि, तोडफोड र आगजनीलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको दोहोर्याए । एमाले नेता अधिकारीले आन्दोलनपछि बनेको सरकारलाई असंवैधानिक भन्दै प्रश्न गरे भने माओवादी नेता चुमानले संविधान संशोधनको आवश्यकता औंल्याए तर आफ्नै पार्टीको कमजोरी स्वीकार गर्न तयार भएनन् । सभामुख धितालले भने, “हामी चुक्यौं, ढिला भए, तर अझै सच्याउने कर्तव्य हाम्रो हो” भन्दै आत्मालोचनाको संकेत मात्र दिए ।

जेनजी आन्दोलनले पुराना दलहरूको रूपान्तरण सम्भव नभएको सन्देश दिएको भए पनि नेताहरू अझै आफ्नो अस्तित्व बचाउने राजनीति मै सीमित देखिए ।

प्रतिक्रिया