काठमाडौं, २७ फागुन।टक्सार पिखुवा खोला हाइड्रोपावर कम्पनी ले पहिलो चरणको प्राथमिक सेयर (IPO) निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै बुधबारदेखि आईपीओ खुला गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ। आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी प्रभु क्यापिटलले सम्हालेको छ।
जसमध्ये १२ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ। उक्त सेयरका लागि भोजपुर जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
त्यसैगरी ३ लाख ३ हजार ६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। विदेशमा रहेका नेपालीहरूले **मेरोसेयर प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित स्थानीयले छिटोमा चैत ११ गतेदेखि ढिलोमा चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत १ गतेदेखि चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले केयर रेटिङ नेपालबाट BB रेटिङ प्राप्त गरेको छ। कम्पनीले ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।
आयोजनाको प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ रहेको छ। सामान्य लगानी फिर्ता हुने अवधि ९.१७ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १८.३७ वर्ष अनुमान गरिएको छ।
आयोजना प्रभावित स्थानीयहरूले आयोजना कार्यालय भोजपुर, प्रभु बैंकका भोजपुर, प्याउली र हटुवागढी शाखा तथा सिटिजन्स बैंकको भोजपुर शाखाबाट आवेदन दिन सक्नेछन्।