गृहमन्त्री अर्यालद्वारा प्रहरीको मनोबल अभिवृद्धि गर्ने प्रतिबद्धता

ecopolinews.com

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले हालैको जेन–जी आन्दोलनका क्रममा भएका क्षतिको प्रत्यक्ष अवलोकन गरेका छन्। बिहीबार प्रहरी प्रधान कार्यालयमा निरीक्षण गर्दै उनले प्रहरी कर्मचारीलाई राष्ट्र र जनताको हितमा समर्पित भई उच्च मनोबलका साथ काम गर्न आह्वान गरे।


उनले आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईहरूको पुनःस्थापना र प्रहरीको मनोबल उच्च राख्न स्थानीय समुदायले देखाएको सद्भाव महत्वपूर्ण भएको बताए। अर्यालका अनुसार यसले समाजमा प्रहरीको आवश्यकता र महत्त्वलाई थप प्रमाणित गरेको छ।

गृहमन्त्रीले भने, प्रहरी संगठनले देखिएका कमीकमजोरीलाई सच्याउँदै कानुनको दायराभित्र रहेर कार्य गर्नुपर्ने आवश्यकता छ। उनले प्रहरीलाई संयमित, कर्तव्यनिष्ठ र जिम्मेवार भएर आफ्नो दायित्व पूरा गर्ने अपेक्षा सरकारको रहेको स्पष्ट पारे।

यसअघि उनले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको समेत अवलोकन गरेका थिए। कार्यक्रममा सातै प्रदेशका प्रहरी प्रमुख, जिल्ला र इलाका प्रहरी प्रमुखहरूले भर्चुअल माध्यममार्फत सहभागिता जनाएका थिए।

प्रतिक्रिया