पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा नेपाली राजनीतिमा नयाँ मोडको संकेत गर्ने वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।
डा. भट्टराईले नयाँ तथा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच बहुपक्षीय छलफल सुरू भएको जानकारी दिएका छन्। जेनजी विद्रोहपछिको बदलिँदो राजनीतिक परिवेश र त्यसले उठाएको जनआकांक्षालाई आधार बनाएर समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक ध्रुवीकरण निर्माण गर्ने उद्देश्यले यो पहल अघि बढाइएको हो।
चलिरहेको छलफलमा पूर्वप्रधानमन्त्री भट्टराईसँगै पूर्व माओवादी नेता जनार्दन शर्मा, सुदन किराँती, रास्वपा त्यागेकी नेतृ सुमना श्रेष्ठ, रास्वपाका उपसभापति डीपी अर्याल लगायत महत्वपूर्ण व्यक्तित्वहरूको सहभागिता रहेको छ।
सहभागीहरूका अनुसार भरपर्दो, विश्वसनीय र दीर्घकालीन वैकल्पिक राजनीतिक शक्तिको निर्माण नै यस छलफलको मुख्य लक्ष्य हो। यस प्रक्रियाको समन्वय र मध्यस्थता डा. भट्टराईले गरिरहेका छन्।