काठमाडौं । नेपालमा सेयर बजारमा लगानी गर्नेहरूका लागि ब्रोकरमार्फत ऋण लिएर सेयर खरिद गर्न सकिने मार्जिन कारोबार सुविधा विस्तार हुँदै गएको छ। नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अनुसार हालसम्म ११ वटा ब्रोकर कम्पनीले मार्जिन कारोबार सेवा सुरु गरिसकेका छन् भने थप ५० ब्रोकर कम्पनीले प्रक्रिया अघि बढाएका छन्।
मार्जिन कारोबारअन्तर्गत लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयरको कुल मूल्यको ३० प्रतिशत रकम आफैं लगानी गरेर बाँकी ७० प्रतिशत रकम ब्रोकरबाट सापटी लिन सक्ने व्यवस्था छ। यसरी लगानीकर्ताले आफ्नो उपलब्ध पूँजीभन्दा ठूलो रकम बराबरको योग्य सेयर खरिद गर्न सक्छन्।
हाल नासा, त्रिशक्ति, इम्पेरियल, आर्यतारा इन्भेस्टमेन्ट, क्रिस्टल कञ्चनजंघा, नेपाल स्टक हाउस, दक्षिणकाली इन्भेस्टमेन्ट, भिजन, दिपशिखा, सनी र कलश स्टक मार्केटले मार्जिन कारोबार सुरु गरेका छन्। थप ब्रोकर कम्पनीहरू पनि अनुमति तथा आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा छन्।
ब्रोकरबाट लिएको ऋणमा कति ब्याज ?
मार्जिन कारोबार सुविधा लिएबापत लगानीकर्ताले ब्रोकरलाई ब्याज तिर्नुपर्छ। हाल विभिन्न ब्रोकर कम्पनीले वार्षिक ७ देखि १० प्रतिशतसम्म ब्याज लिइरहेका छन्। केही ब्रोकरले सेवा शुल्कसमेत लिने गरेका छन् भने केहीले ब्याज मात्र लिने बताएका छन्।
अधिकांश ब्रोकर कम्पनीले सापटी लिएको रकमको करिब ०.२५ प्रतिशत सेवा शुल्क लिने गरेका छन्। केही कम्पनीले भने यस्तो शुल्क नलिई ब्याजबाट मात्रै आम्दानी गर्ने गरेका छन्।
बजार घट्दा ठूलो जोखिम
मार्जिन कारोबारले लगानीकर्तालाई कम आफ्नै पूँजीमा ठूलो रकमको सेयर खरिद गर्ने अवसर दिए पनि यसमा जोखिम पनि उत्तिकै हुन्छ।सेयरको मूल्य घट्दै गएमा लगानीकर्ताको आफ्नै पूँजी घट्दै जान्छ र निश्चित सीमाभन्दा तल पुगेमा ब्रोकरले थप रकम जम्मा गर्न ‘मार्जिन कल’ गर्न सक्छ।
उदाहरणका लागि, कुनै लगानीकर्ताले १० लाख रुपैयाँको सेयर खरिद गर्दा ३ लाख रुपैयाँ आफैंले र ७ लाख रुपैयाँ ब्रोकरबाट सापटी लिएको अवस्थामा सेयरको मूल्य घटेर ८ लाख रुपैयाँमा झर्यो भने लगानीकर्ताको आफ्नै हिस्सामा रहेको रकम निकै घट्छ। निर्धारित मर्मत मार्जिन कायम गर्न थप रकम आवश्यक पर्न सक्छ।
लगानीकर्ताले तोकिएको समयमा आवश्यक रकम थप गर्न नसकेमा ब्रोकरले सेयर बिक्री गरेर आफ्नो सापटी रकम असुल गर्न सक्ने व्यवस्था छ।
सबै कम्पनीको सेयरमा मार्जिन सुविधा पाइँदैन
ब्रोकरबाट लिएको रकम प्रयोग गरेर नेप्सेमा सूचीकृत जुनसुकै कम्पनीको सेयर खरिद गर्न भने पाइँदैन। नेप्सेले मार्जिन कारोबारका लागि योग्य ठहर गरेका कम्पनीको सेयरमा मात्र यस्तो सुविधा प्रयोग गर्न सकिन्छ।
मार्जिन कारोबारका लागि कम्पनीको चुक्ता पूँजी, नेटवर्थ, नाफा, सर्वसाधारणमा रहेको सेयर संख्या तथा सूचीकरण अवधि लगायतका मापदण्डलाई आधार बनाइन्छ।
हाल योग्य कम्पनीमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन तथा निर्जीवन बीमा, लघुवित्त, लगानी, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधनलगायत विभिन्न क्षेत्रका कम्पनी समावेश छन्।
ब्रोकर कम्पनीका लागि पनि नयाँ आम्दानीको बाटो
मार्जिन कारोबार विस्तारसँगै ब्रोकर कम्पनीहरूले लगानीकर्तालाई ऋण उपलब्ध गराएर ब्याज तथा सेवा शुल्कबाट आम्दानी गर्ने नयाँ अवसरपाएका छन्। ब्रोकर कम्पनीले आफ्नै स्रोत, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण वा अन्य स्वीकृत स्रोतबाट रकम जुटाएर मार्जिन कारोबार सुविधा दिन सक्ने व्यवस्था छ।
ब्रोकर सञ्चालकहरूका अनुसार बैंकिङ प्रणालीको तुलनामा प्रक्रिया सहज र छिटो हुने भएकाले मार्जिन कारोबारप्रति लगानीकर्ताको चासो बढ्दै गएको छ।
यसरी नेपाली सेयर बजारमा ब्रोकरबाटै ऋण लिएर सेयर खरिद गर्ने प्रवृत्ति विस्तार हुँदै गएको छ। तर ऋणको प्रयोगले नाफा बढाउने सम्भावनासँगै बजार घट्दा घाटा पनि तीव्र रूपमा बढाउन सक्ने भएकाले मार्जिन कारोबारमा प्रवेश गर्ने लगानीकर्ताका लागि ब्याज, मार्जिन कल र जोखिम व्यवस्थापन मुख्य विषय बन्ने देखिएको छ।