‘रणनीतिकारदेखि राजनीतिक ‘किशोर’सम्म : प्रशान्त किशोरको बिहारमा लज्जास्पद पतन’

ecopolinews.com

भारतको चुनावी जगतमा ‘अदृश्य शक्ति’ मानिने प्रशान्त किशोर (पीके)– जो मोदीदेखि ममता बनर्जीसम्मलाई सत्ताको शिखरमा पुर्‍याउने रणनीतिकारको रूपमा विश्वभर चिनिए– २०२५ को बिहार विधानसभा चुनावमा भने आफ्नै राजनीतिक क्षमताको कठोर परीक्षणमा असफल साबित भए।

सन् २०१४ को मोदी लहर निर्माणदेखि लेकर २०२१ को बंगालमा ममता बनर्जीको ऐतिहासिक पुनरागमनसम्म, पीकेको रणनीतिको ‘स्ट्राइक रेट’ लगभग शतप्रतिशत थियो। तर आफ्नै दल ‘जनसुराज पार्टी’ लिएर मैदानमा उत्रँदा, उनले बनाएको सबै पूर्वानुमान र दाबीहरू ध्वस्त हुँदै गए।

२४३ मध्ये २३४ सिटमा उम्मेदवार उठाएको जसुपाले एक पनि सिट जित्न सकेन। झन् लज्जास्पद त के भने– अधिकांश ठाउँमा जमानतसम्म जोगाउन नसक्ने गरी मत नआउँदा, प्रशान्त किशोर स्वयं राजनीतिक ‘किशोर’– अर्थात् अपरिपक्व र ‘अपर्याप्त’ साबित भए।

बक्सर क्षेत्रबाट उम्मेदवार बनेका पीकेको सपनाहरू मतपेटिकामै चकनाचुर भए। उनीद्वारा घोषणा गरिएको ‘७५ सिट जित्ने’ दाबी त छाडौँ, पार्टीले खातासम्म खोल्न नसक्नु नै ठूलो राजनीतिक झट्का बन्यो। सामाजिक सञ्जालमा उनीप्रति भएको व्यंग्य– “अन्यलाई जिताउने मास्टर, आफैं भने शून्य”— चुनावी नतिजासँगै तीव्र हुँदै गयो।

२०१२ मा मोदीको ‘चाय पे चर्चा’देखि २०१४ मा सीएजीमार्फत चलाएको उच्चस्तरीय डेटा–क्याम्पेनले भारतमै उनको नाम उचाइमा पुर्‍याएको थियो। तर २०२५ मा घरदैलो अभियान, डिजिटल अभियान र युवा–केन्द्रित मुद्दाहरू उठाएर बनाएको ‘जनसुराज’ मोडेल बिहारका जनतासँग जमेन।

राजनीतिक विश्लेषकहरू भन्छन्– “रणनीति बनाउने सीप र प्रत्यक्ष चुनावी जमीनमा उभिने क्षमता फरक हुन्छ। पीकेले यही भिन्नता बुझ्न सकेनन्।”

लज्जास्पद हारपछि प्रशान्त किशोरले भने– “यो त सुरुआत हो, हामी सिक्ने छौँ।” तर बिहारले दिएको सन्देश एकदम स्पष्ट छ– कागजमा बनेको लोकप्रियता र वास्तविक मतदाताको मनोविज्ञान बीचको दूरी अत्यन्त विशाल हुन्छ।

बिहारमा भएको यो परिणामले एक कुरा प्रमाणित गरिदियो— अरूलाई सत्तामा पुर्‍याउने ‘रणनीतिकार’ बन्न सजिलो होला, तर आफू सत्ताको कुर्सीतिर उक्लिन चाहने व्यक्ति भने धेरै कठोर परीक्षा पास गर्नुपर्ने रहेछ।

प्रतिक्रिया