नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोटको तादी गाउँपालिका–१ मा सम्पन्न वडा अधिवेशनले राजनीतिक वृत्तमा नयाँ ऊर्जा सञ्चार गरेको छ। अधिवेशनबाट ३५ वर्ष मुनिका युवा समूहबाट खेलकुद क्षेत्रमा समेत सक्रिय रहँदै आउनुभएका राजेन्द्र तामाङ कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको छ। पार्टीभित्र युवा सहभागिता र सक्रियता बढाउन यो निर्णय एक बलियो कदमको रूपमा हेरिएको छ। आपसी सहमति र समझदारीका आधारमा सम्पन्न यस अधिवेशनले पार्टीलाई थप एकताबद्ध बनाउने सन्देश दिएको छ।
तामाङको यो चयनसँगै नेपाली कांग्रेसको संगठनमा युवाहरूको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। लामो समयदेखि खेलकुद क्षेत्रमा आफ्नो सशक्त पहिचान बनाएका तामाङले अब राजनीतिक तथा सामाजिक रूपान्तरणमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँको यस उदीयमान राजनीतिक यात्राले स्थानीयस्तरका युवाहरूमा ठूलो उत्साह जगाएको छ।
यसैबीच, अधिवेशनबाट चन्द्रावती थापाको नेतृत्वमा नयाँ वडा कार्यसमिति समेत सर्वसम्मत रूपमा चयन गरिएको छ। सबै सहभागी प्रतिनिधिहरूको सहकार्य र समझदारीमा नेतृत्व चयन हुँदा तादी–१ मा कांग्रेसको आन्तरिक एकता बलियो बनेको छ। केन्द्रको निर्धारित कार्यतालिकाअनुसार देशभर वडा अधिवेशनमार्फत नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेको छ भने नेपाली कांग्रेसले केन्द्रीय महाधिवेशन आगामी २०८३ साल असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।