रविन्द्र कट्टेल
काठमाण्डौ - नेपालको सडकमा अहिले जे भइरहेको छ, त्यो केवल आन्दोलन होइन—यो पुस्ताको अस्तित्वको खोज हो। जेन–जी आन्दोलनले देशभरि आगो सल्काएको छ। युवाहरूले आफ्नो पीढीको असन्तोष, भ्रष्टाचारविरुद्धको विद्रोह, र असमानताप्रतिको रोष सडकमा पोखेका छन्। यो आवाजलाई नकार्ने अधिकार कसैसँग छैन। सहादत दिनेहरू इतिहासको किताबमा मात्र होइन, जनताको स्मृतिमा सधैं अमर रहनेछन्। तर यथार्थ यति मात्र होइन—यो आन्दोलनले लोकतन्त्रलाई सबल पार्छ कि भत्काउँछ भन्ने प्रश्न आज सबैभन्दा ठूलो राजनीतिक द्वन्द्व बनेको छ।
शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको तथ्यलाई अब लुकाउन सकिँदैन। प्रहरी प्रशासनमाथि लक्षित आक्रमण, हत्या र हिंसाले आन्दोलनलाई नै दाग लगाइदिएको छ। गोली प्रहरीको थियो कि घुसपैठवालाको भन्ने प्रश्न अझै अनुत्तरित छ। तर परिणाम स्पष्ट छ—देश अभिभावकविहीन छ, जनता त्रासमा छन्, र सुरक्षाकर्मीहरू बाध्यताले लुकेर बस्न विवश छन्। यस्तो दृश्य लोकतन्त्रको विजय होइन, यसको क्षय हो।
जेन–जी आन्दोलनका लिडरहरूले बारम्बार भनेका छन्—“हाम्रो आन्दोलन भ्रष्टाचारविरुद्ध हो, देशको सम्पत्ति नाश गर्न होइन।” तर सडकमा देखिएको हिंसा, संविधान विघटन र दलविहीन शासनको मागले आन्दोलनलाई खतरनाक दिशातिर धकेल्दैछ। इतिहास साक्षी छ—दलविहीन शासनको अन्त्यले मात्र २०४६ सालमा लोकतन्त्र जन्मिएको हो। त्यसैले दलविहीनताको माग गर्नु भनेको फेरि अधिनायकवादलाई आमन्त्रण गर्नु हो, जुन केवल विदेशी शक्तिका लागि अवसर हो, तर युवापुस्ताका लागि आत्मघाती कदम हो।
युवापुस्ताको अस्तित्व यस देशको भविष्यसँग गाँसिएको छ। निर्वाचन आयोगका तथ्यांकहरू हेर्दा मात्रै स्पष्ट हुन्छ—१८ देखि ३० वर्षबीचका करिब आधा मतदाताले अघिल्लो चुनावमा मतदान गरेनन्। दलहरूमा विश्वास हराइसकेको थियो, त्यसैले सडक आन्दोलन अपरिहार्य बनेको हो। तर अस्तित्वको राजनीति केवल सडकमा सीमित रहँदैन। यदि युवाले आफ्नो ऊर्जा संस्थागत संरचनाभित्र पुर्याउन सकेनन् भने, यो विद्रोह केवल क्षणिक क्रोधमा परिणत हुन्छ। इतिहासमा यस्ता क्रान्तिहरू धेरै भेटिन्छन्—जसले परिवर्तन ल्याए, तर संस्थागत संरचना नबनाएकाले फेरि अराजकता र निराशा मात्र जन्मियो।
नेपाल भू–राजनीतिक रूपमा संवेदनशील छ। हरेक आन्दोलन, हरेक विद्रोह बाह्य शक्तिको चासोको विषय बन्छ। आज पनि जेन–जी आन्दोलनलाई कतिपय विदेशी स्वार्थहरूले आफ्नो खेलको रूपमा हेरेका छन्। संविधान भत्कियो भने, लोकतन्त्र कमजोर भयो भने, नेपाल फेरि बाह्य शक्तिको दबाबमा फस्छ। युवापुस्ताको अस्तित्व केवल आफ्नो स्वाभिमानमा होइन, राष्ट्रको सार्वभौमिकताको रक्षा गर्नेतर्फ पनि जोडिनुपर्छ।
लोकतन्त्र अपूर्ण छ, तर यसको विकल्प छैन। सुधार गर्ने बाटो छ, तर भत्काउने बाटो आत्मघाती छ। प्रहरी प्रशासनमाथि भएको निर्मम आक्रमण, सार्वजनिक सम्पत्तिको तोडफोड, विदेशी एजेन्डाको आडमा उठाइएका नारा—यी सबैले आन्दोलनलाई कमजोर बनाइरहेका छन्। अस्तित्वको राजनीति यसरी हिंसाको मैदानमा हराउने होइन, बरु संस्थागत सुधारको बाटोमा टिकाउने हो।
जनतालाई आज शान्ति र सुरक्षा चाहिएको छ। युवालाई न्याय र अवसर चाहिएको छ। यी दुवै कुरा एकै पटक सम्भव हुन्छन् भने त्यो केवल जिम्मेवार लोकतान्त्रिक आन्दोलनमार्फत हुन्छ। जेन–जी पुस्ताले अब सोच्नुपर्छ—के उनीहरूको अस्तित्व केवल लुटपाट, हिंसा र विदेशी स्वार्थका लागि प्रयोग हुने हो? कि उनीहरूको अस्तित्व यस देशको लोकतान्त्रिक भविष्यलाई अझ सबल पार्ने हो?
नेपालको अस्तित्व र लोकतन्त्रको अस्तित्व आज एउटै सूत्रमा गाँसिएका छन्। युवापुस्ताले आफ्नो ऊर्जा, आफ्नो विद्रोह, र आफ्नो सपना यसै सूत्रसँग बाँध्न सके भने, सहादत दिनेहरूको बलिदान व्यर्थ हुने छैन। तर यदि उनीहरूले संविधान तोड्ने र दलविहीनताको बाटो रोजे भने, उनीहरूको अस्तित्व इतिहासकै अर्को निराशा बन्नेछ।