भारतको ऐतिहासिक विजय : पाकिस्तानलाई हराउँदै नवौँपटक एसिया कप च्याम्पियन

ecopolinews.com
दुबई । भारतले पाकिस्तानलाई पराजित गर्दै एसिया कप २०२५ को उपाधि जितेको छ। गएराति सम्पन्न रोमाञ्चक फाइनलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै कीर्तिमानसहित नवौँपटक एसिया कप आफ्नो झोलीमा पार्‍यो।

पहिले टस जितेर फिल्डिङ रोजेको भारतले पाकिस्तानलाई १९.१ ओभरमा १४६ रनमै अलआउट गरेको थियो। ओपनर जाहिबजादा फरान (५७) र फखर जमान (४६) को ८४ रनको साझेदारीपछि पाकिस्तान बलियो स्कोर बनाउन सक्ने अवस्थामा पुगे पनि मध्यक्रम धराशायी हुँदा मात्र १४६ रनमा समेटिन पुग्यो। भारतका लागि कुलदीप यादव चम्किए, उनले ४ विकेट लिए भने जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले समान २–२ विकेट हात पारे।

जवाफमा भारत एक समय ४ ओभरमा ३–२० को संकटमा परे पनि तिलक वर्माको अविजित ६९ रनको साहसी इनिङ्सले टोलीलाई जितसम्म पुर्‍यायो। उनले ५३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सञ्जु सामसनले २४ रनको योगदान दिए भने शिवम दुबेले ३३ रन थपे। भारतले लक्ष्य २ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो।

पाकिस्तानका लागि फहिक असरफले ३ विकेट झारे भने शाहिन शाह अफ्रिदी र अब्रार अहमदले १–१ विकेट लिए।

यससँगै भारतले १९८४, १९८८, १९९०–९१, १९९५, २०१०, २०१६, २०१८ र २०२३ पछि नवौँपटक एसिया कप जित्ने गौरव हासिल गरेको छ।

प्रतिक्रिया