सिन्धुली जिल्लामा घटेको एक अमानवीय घटनाले पूरै क्षेत्रलाई तनाव र दुःखको चपेटामा पारेको छ । सासू र नन्दले मिलेर बुहारीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोप लागेपछि उत्पन्न आक्रोश नियन्त्रणबाहिर गएको हो । अवस्था यस्तो बिन्दुमा पुगेपछि जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
कमलामाई नगरपालिका–४ धुराबजारकी ३२ वर्षीया सुशीला बम्जनको पुस ६ गते भान्छा कोठामै जिउँदै जलाएर हत्या गरिएको आरोप लागेको छ । घटनामा संलग्न भएको आरोपमा सुशीलाकी ५० वर्षीया सासू मायारानी बम्जन र ३५ वर्षीया नन्द मिना लामा (बम्जन) लाई प्रहरीले पुस ७ गते नियन्त्रणमा लिएको थियो।
घटनाको खबर फैलिएसँगै स्थानीय बासिन्दाहरू आक्रोशित बनेका छन् । दोषीलाई तत्काल र कडा कारबाही गर्न माग गर्दै उनीहरू सडकमा उत्रिएका छन् । आक्रोशित भीडले आरोपीको घरमा आगजनी गर्ने प्रयास गरेपछि स्थिति झनै जटिल बन्दै गएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रुग्याँस प्रहार गरिए पनि त्यसपछि भीड अझ उत्तेजित भई हुलदङ्गाको अवस्था सिर्जना भएको प्रशासनको भनाइ छ । शान्ति सुरक्षामा गम्भीर चुनौती देखिएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझ ८ः३० बजेदेखि कर्फ्यु आदेश लागू गरेको हो । तर, कर्फ्यु लगाइए पनि वातावरण पूर्ण रूपमा शान्त हुन सकेको छैन ।
स्थानीय बासिन्दाहरूले यस घटनालाई अत्यन्त अमानवीय र निन्दनीय भन्दै न्यायिक प्रक्रियामा कुनै ढिलाइ नहोस् भन्ने माग दोहोर्याइरहेका छन् । प्रहरीले घटनाको गहिरो अनुसन्धान भइरहेको र दोषीमाथि कानुनअनुसार कडा कारबाही गरिने प्रतिबद्धता जनाएको छ ।
एक महिलाको क्रूर मृत्युले सिन्धुलीमा उठाएको यो आक्रोश केवल एक घटनाको प्रतिक्रिया मात्र होइन, समाजमा व्याप्त हिंसाविरुद्धको गहिरो पीडा र प्रश्न पनि हो।