काठमाडौं, पुस २ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी प्रयोगसम्बन्धी विवादमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ। लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा दायर हुनुपर्ने मागसहित युवराज पौडेल (सफल)ले दायर गरेको रिट निवेदनमा अदालतले सुनुवाइ गर्न लागेको हो।
रिटमा महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको कदम कानुनसम्मत नरहेको दाबी गरिएको छ। महान्यायाधिवक्ता कार्यालयले २०७९ चैत ६ गते लामिछानेमाथि राहदानीसम्बन्धी मुद्दा चलाउन आवश्यक नरहेको निष्कर्ष निकालेको थियो। त्यसअघि प्रहरी र सरकारी वकिल कार्यालयले पनि सोही प्रकृतिको निर्णय गरेका थिए।
निवेदक पौडेलले लामिछानेले कुन–कुन अवधिमा, के कस्तो प्रयोजनका लागि राहदानी प्रयोग गरेका थिए भन्ने विस्तृत विवरण अध्यागमन विभागबाट झिक्नुपर्ने माग पनि रिटमा समेटेका छन्। राहदानीको प्रयोग वैधानिक थियो कि दुरुपयोग भएको थियो भन्ने विषय यथार्थपरक रूपमा छानबिन हुनुपर्ने उनको जिकिर छ।
यस मुद्दाको आजको सुनुवाइबाट अदालतले के कस्तो निर्देशन वा आदेश दिन्छ भन्ने विषयमा राजनीतिक र कानुनी वृत्तमा चासो बढेको छ।