राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको गरिमामय समयमा प्रधानमन्त्री बालेन शाह एक्कासि संसद् बैठकबाट बाहिरिएपछि नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ। राज्यको सर्वोच्च संस्थाबाट सरकारकै नीति तथा कार्यक्रम वाचन भइरहेको अवस्थामा सरकार प्रमुख नै अनुपस्थित हुनुलाई कांग्रेसले संसदीय मर्यादा र लोकतान्त्रिक संस्कारमाथिको गम्भीर प्रहारका रूपमा अर्थ्याएको छ। यस अस्वाभाविक कदमले संसद्को गरिमालाई नै अवमूल्यन गरेको भन्दै कांग्रेसले सरकारसँग तत्काल स्पष्ट जवाफ माग गरेको छ।
यसै विषयलाई लिएर संसद् बैठकमा कडा रूपमा प्रस्तुत हुँदै नेपाली कांग्रेसकी सांसद वासना थापाले प्रधानमन्त्रीको उक्त कदमप्रति गम्भीर ध्यानाकर्षण गराएकी छन्। उनले यस घटनालाई लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमै विरलै देखिने अत्यन्तै अशोभनीय र गैरजिम्मेवारपूर्ण दृश्यको संज्ञा दिइन्। संसद् भनेको विधि, विधान र मर्यादाको सर्वोच्च थलो भएको स्मरण गराउँदै सांसद थापाले संवैधानिक संस्कार र संसदीय परम्पराको सम्मान गर्न सरकारलाई सचेत गराएकी छन्। नीति तथा कार्यक्रम जस्तो राष्ट्रको अत्यन्तै महत्त्वपूर्ण र गम्भीर विषयमा स्वयं प्रधानमन्त्रीबाटै प्रस्तुत भएको यस्तो उदासिनताले सरकारको गम्भीरता र जवाफदेहितामाथि नै ठूलो प्रश्नचिह्न खडा गरेको कांग्रेसको ठहर छ।