काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) को दोस्रो महाधिवेशनबाट हङकङका युवा उद्यमी गोकर्णप्रसाद ढकाल सर्वसम्मतरूपमा ग्लोबल अध्यक्षमा निर्वाचित भएका छन्। यसअघि ढकाल फिनेका वरिष्ठ उपाध्यक्षका रूपमा सक्रिय थिए।
विश्वका विभिन्न देशमा रहेका नेपाली युवा उद्यमीहरूलाई एउटै छातामुनि ल्याउने उद्देश्यले स्थापित फिनेको महाधिवेशन यसपटक भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो। महाधिवेशनमा १५ देशका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।
नव–निर्वाचित नेतृत्वमा शमिम अन्वर वरिष्ठ उपाध्यक्ष, प्रकाश थापा, डिला खरेल, पूर्ण पोखरिया, प्रदीप न्यौपाने, शम्भु कँडेल र उषा गुरुङ उपाध्यक्षमा चयन भएका छन्। त्यस्तै दीपेन घले पुनः महासचिवमा दोहोरिएका छन् भने धर्म अधिकारी सचिव र ओम ज्ञवाली कोषाध्यक्ष निर्वाचित भएका छन्।
क्षेत्रीय अध्यक्षमा क्रमशः रामप्रसाद पाध्य (अफ्रिका), देवेन्द्र कार्की (युरोप), विष्णुलाल श्रेष्ठ (मध्यपूर्व) र उमेश खड्का (ओसेनिया) निर्वाचित भएका छन्।
महाधिवेशनले मनिषा डंगोल श्रेष्ठ, एमके रमेश पौडेल, रजनिश भट्टराई, विकास दाहाल, अमर सापकोटा, रोशन बुढाथोकी, निराजन भण्डारी, शिव श्रेष्ठ, भिमलाल गैरे, सुर्य श्रेष्ठ, विवेक पौडेल र दीपेशमान शाक्यलाई सदस्यमा चयन गरेको छ।
महासचिव घलेले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा फिनेले विश्वव्यापी रूपमा आफ्नो सञ्जाल विस्तार तीव्र गतिमा अघि बढाएको उल्लेख थियो। नेपालमा पनि फिनेले बागमती र गण्डकी प्रदेशमा शाखा विस्तार गरिसकेको जानकारी दिइयो।
नवनिर्वाचित ग्लोबल अध्यक्ष ढकालले विश्वभर छरिएका नेपाली युवा उद्यमीहरूबीच सहकार्य, मार्गदर्शन र अवसर सञ्जाल निर्माण गर्दै नेपाली उद्यमीलाई विश्व बजारमा सशक्त रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।